Gold
Bangad salyan

कार्यकर्तालाई हलोमा भोट हाल्न ओलीको निर्देशन

झापा -नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ३ मा राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनलाई एमालेले आफ्नो इज्जतका लागि पनि चुनावमा जिताउनु पर्ने बताएका छन्।

नेकपा (एमाले) र राप्रपाले शुक्रबार भद्रपुरमा संयुक्त रुपमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘चुनावमा समर्थन गरेको पार्टीले जित्दैन भने एमालेको के काम? त्यसैले एमालेले राप्रपा अध्यक्ष लिङदेनलाई जिताउनु पर्छ ।

एमाले एक थोक भन्ने अर्को थोक गर्ने पार्टी नभएको उनले बताए। अध्यक्ष ओलीले भने, ‘राप्रपाको हलोलाई कसरी भोट दिने जिज्ञासा मन नराख्नु होला हलोमा भोट दिएनन् भने देशद्रोहीहरू आउँछन्, उनीहरूलाई छेक्न कहिले काहीँ हलोमा पनि भोट हाल्नुपर्छ।

देशप्रति माया नभएका, विकासको कुनै वास्ता नभएको गठबन्धनलाई चुनावमा पराजित गर्नुपर्ने ओलीको भनाई छ । यस्तै गठबन्धनका उमेदवार हराउनुनै हाम्रो मुख्य काम हो ।

मंसिर ४ गतेको चुनावपछि देशमा एमालेको बहुमतको सरकार बन्ने उनले दावी गरे। बहुमत आएपछि एमाले एक्लैको सरकार  नबन्ने र एमालेको साथमा राप्रपा र जसपा समेतको सरकार बन्ने उनको भनाइ छ।

‘त्यसपछिको सरकारमा राजेन्द्र लिङदेन गएपछि विकास खोइ भनेर तपाईँहरूले हिसाबकिताब माग्नुहोस्। ‘सरकारमै नभएको राजेन्द्र लिङदेनसँग तपाईँहरूले विकास खोइ भनेर के हिसाब किताब माग्नुहुन्छ, अहिलेसम्म निर्णय गरेको ठाउँमा उहाँ जानै पाउनु भएको छैन,’ उनले भने।

देशको विकास गर्न, देशको शान्ति सुव्यवस्था कायम गर्न, देशलाई समृद्धि र जनतालाई सुखी बनाउन सरकारमा जाने उनको भनाइ छ। ‘नत्र भने त्यहाँ निदाउन, झकाउनु जाने हो र सरकारमा, हामी त्यहाँ चनाखो भएर देशको रक्षा गर्न जाने हो,’ उनले भने।

त्यसैगरी राप्रपाका अध्यक्ष लिङदेनले राजनीतिलाई अपराधीकरण गर्ने, रुपैयाँ र पैसाले सबै थोक गराउने, विदेशीको आशीर्वाद प्राप्त गरेपछि सबै थोक पूरा हुन्छ भन्ने जुन प्रवृत्ति छ, त्यसलाई पनि अन्तिम चोटि यस क्षेत्रमा घुँडा टेकाउनु पर्ने बताए।

‘आज केही मानिसहरू राजेन्द्र लिङदेनले चुनाव जितेर गएपछि यस क्षेत्रमा केही काम गरेनन्, मतदाताको मत खेर गयो भन्दै मेरो दाइले गरेको भनेर ७५ वर्षको बुढो मान्छेलाई डोराएर हिडिरहेका छन्,’ लिङदेनले भने।

२०७४ सालको निर्वाचनको बेला छापेको कागज अहिले फेरि त्यही छापेर हिँडिरहेको उनले बताए। पाँच वर्षमा यस क्षेत्रमा गरेको विकास निर्माणको काम हार्नेले गरेको हो कि जित्नेले, उनले प्रश्न गरे।

म चुनौतीको भाषामा भन्न चाहन्छु आमाको दूध खाएको कोही बहादुर छोरा छ। ‘र त्यो २०७४ साल भन्दा अगाडिको योजना हो भनेर प्रमाणित गर्न सक्छ भने म त्यसको झोला बोकेर हिँड्न तयार छु,’ उनले भने।

यहाँ त हार्नेले यस क्षेत्रमा काम गरेको भन्दै हिँडिरहेका उनले बताए। ‘हार्नेले काम गरेको रहेछ भने १४ हजार मतले अघिल्लो चोटि हराएकोलाई यस पल्ट ४० हजार मतले हराउँछु’ उनले भने।