Gold
Bangad salyan

तिनकुनेमा सामुहिक हत्या प्रकरण छानबिन समिति गठन

,काठमाडौं – तिनकुने श्री स दिब्य मिलमा भएको सामुहिक हत्या प्रकरण उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले छानबिन गर्न एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको छ ।

उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका प्रमुख राठौरको नेतृत्वमा जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका प्रहरी कार्यालयका अधिकृतहरु रहेको समिति बनाएका हुन् ।

समितिका सदस्यहरुमा जिल्ला प्रहरी परिसर, काठमाडौंका डीएसपी हरि खतिवडा, उपत्यका प्रहरी कार्यालयका डीएसपी सुवास खड्का, अपराध अनुसन्धान कार्यालयका डीएसपी सुरक्षा केसी र प्रहरी वृत्त, बानेश्वरका निरीक्षक वीरेन्द्र केसी सदस्य रहेको उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीले बताए ।

गएराति तिनकुनेस्थित श्री दिव्य सःमिल तथा कास्ठ उधोगभित्र धारिलो हतियार प्रहार गरेर एकैपरिवारका ३ सहित ४ जनाको हत्या भएको थियो । मारिनेमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी  श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले बताए ।

प्रहरी यो घटनामा संलग्न रहेको आशंकामा २८ वर्षीय दीपेन्द्र राईलाई पक्राउ गरेको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाका अनुसार, राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा पक्राउ गरिएको हो । उनले मदिरा सेवन गरेको पाइएको छ । घटनाको कारण भने खुल्न सकेको छैन। भदौ ३०