तिनकुनेमा चार जनाको हत्या गरेका सन्जयलाई केन्द्रीय कारागारको गोलघरमा राखियो
असोज २७
काठमाडौं – काठमाडौंको तीनकुनेमा चार जनाको हत्या गरेको आरोपमा पुर्पक्षका लागि कारागार पठाइएका सञ्जय भण्डारीलाई केन्द्रीय कारागारको गोलघरमा राखिएको छ।
अन्यकैदीबन्दीको सुरक्षाका लागि भन्दै भण्डारीलाई जेलभित्रको जेल अर्थात् गोलघरमा राखिएको हो ।
शुक्रबार काठमाडौँ जिल्ला अदालतले भण्डारीलाई पुर्पक्षका लागि थुनामा राख्न भन्दै केन्द्रीय कारागार सुन्धारामा पठाएको थियो ।
केन्द्रीय कारागार सुन्धाराले भण्डारीलाई जेलभित्रको पनि जेल अर्थात् गोलघरमा राख्न पठाएको हो । कारागार कार्यालय जगन्नाथदेवलका प्रमुख ललित बस्नेतका अनुसार सुरक्षा संवेदनशीलताका कारण गोलघरमा राखिएको छ ।
तिनकुने हत्यामा पक्राउ परेपछि पनि थुप्रै मान्छेको हत्या गरिसकेको बयान दिएका भण्डारीलाई अन्य कैदीबन्दीको सुरक्षालाई मध्यनजर गर्दै उच्च निगरानीमा राखिएको हो ।
गोलघरमा निकृष्ट प्रकृतिको अपराध गर्ने व्यक्ति र भाग्न सक्ने वा भाग्न खोज्ने व्यक्तिहरुलाई राखिन्छ । यसअघि गोलघरमा सिरियल किलर चाल्र्स शोभराज, गुण्डानाइके रमेश बाहुन, रिगल भन्ने योगराज ढकालहरुलाई समेत राखिएको थियो ।
गोलघरभित्रका कैदीबन्दीले अन्य कैदीबन्दीले जति सुविधा पनि पाउँदैनन् । उनीहरुले अन्य कैदीबन्दीले जति भेटघाट समेत गर्न पाउँदैनन् भने फोन सम्पर्क गर्दा पनि प्रहरीको निगरानीमा उनीहरुकै अगाडि मात्रै फोन गर्न पाउँछन् ।
गत भदौ २९ गते साँझ करिब ८ बजेको समयमा तीनकुनेको गैरीगाउँमा रहेको दिव्या सःमिल भित्र ४ जनाको सामूहिक हत्या भएको थियो ।
घटनामा दोलखा घर भई सोही काठ मिलमा गेटपालेको काम गर्ने ५६ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अन्दाजी ५२ वर्षकी अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीय सुभद्रा भुजेल र सोही स्थानमा काम गर्ने मोरङ बेलबारी स्थायी ठेगाना भएका २० वर्षीय नवीन राईको हत्या भएको थियो ।
भण्डारीले यो बाहेक अरु विभिन्न ठाउँमा हत्या गरेको बयान दिएका छन् ।
उनको बयानलाई लिएर प्रहरीले थप घटनाको अनुसंधान गरिरहेको छ।

