Gold
Bangad salyan

बर्षासंगै डेङ्गीका बिरामी बढे बिरामीको संख्या १४ हजार पुग्यो

असोज १९

काठमान्डौ – केही दिन देखि परेको बर्षासंगै देशभर डेङ्गीबाट सङ्क्रमितको सङ्ख्या बढेर १४ हजारभन्दा धेरै पुगेको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा.गोकर्णप्रसाद दाहालका अनुसार देशभर १४ हजार ९ सय ७५ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ ।

अहिलेसम्म कर्णाली हुम्ला बाहेक सबै जिल्लामा डेङ्गीको सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी गण्डकी प्रदेशमा सङ्क्रमण देखिएको छ ।

महाशाखाका अनुसार गण्डकी प्रदेशमा छ हजार नौ सय २०,  कोशी प्रदेशमा एक हजार तीन सय २९, मधेशमा दुई सय ८६, बाग्मतीमा चार सय ८९, लुम्बिनी नौ सय ९५, कर्णालीमा दुई सय २० र सुदूरपश्चिम प्रदेशमा सात सय ३६ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।

यस्तै काठमाण्डौ उपत्यकामा दुई हजार नौ सय ९८ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गीको सङ्क्रमण बढेपछि हरेक शुक्रवार सरकारी, गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।

डेङ्गीबाट बच्न सधैँ झुल टाँगेर सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न, सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपछी व्यवस्थित ढङ्गले पाल्न, घर वरिपरी गमला, टायर वा कुनै पनि खुला भाडामा पानी जम्न नदिन विज्ञहरुले आग्रह गर्दै आएका छन् ।