सिन्धुलीबाट निर्दय र क्रूर तरिकाले गाई–गोरुको ढुवानी
पुष २२
सिन्धुली – सिन्धुलीबाट अमानवीय क्रूर तरिकाले गाई–गोरुको ढुवानी हुँदै गर्दा भिमानका दुई युवाले समातेर बर्दिवास प्रहरीलाई बुझाएका छन् ।
हिजो बिहान सिन्धुलीबाट तराईतर्फ लगिँदै गरेको गाई–गोरुलाई भिमान निवासी सरोजप्रसाद फुय्याल र राम मगरले गौरीडाडा ट्राफिक प्रहरीको सहयोगमा नियन्त्रणमा लिएर गौरीडाडा प्रहरीमा बुझाएका हुन् ।
गाई–गोरु अत्यन्तै क्रूर तरिकाले झुन्ड्याएर ढुवानी गरिँदै थियो । गाडीमा नथी बाँधेर कोचिएको पशु न चलमलाउन सक्थे, न कराउन । चुपचाप आँसु चुहाइरहेका थिए ।
यसरी क्रूर तरिकाले पशुको ढुवानी गर्न कानुनले बन्देज लगाएको छ ।पशु ढुवानी मापदण्ड अनुसार पशुको मुख गाडीको अगाडिपट्टि चालकतर्फ फर्केको हुनुपर्छ ।नाक र पुच्छर पनि बाँध्न पाइँदैन ।
राँगाभैंसी, खसीबोका राख्ने गाडीमा ६ इन्च बाक्लो पराल, भुस वा सोतर राख्नुपर्छ ।
मुलुकी ऐन अपराध संहिताको दफा २९० मा पशुपन्छीप्रति निर्दयी व्यवहार गर्न नहुने र त्यसो गरे तीन महिनासम्म कैद या पाँच हजार रुपैयाँ जरिवाना वा कैद र जरिवाना दुवै हुने व्यवस्था छ । तर पशु ढुवानीमा न मापदण्ड पालना हुन्छ न कारबाही नै हुन्छ ।

