गोरखाको एक ओढारमा भेटियो १६ चक्की सुन ,,
साउन ९ , गोरखा – गोरखाको धार्चे गाउँपालिका ३ को खोर्लाबेसी ओढारबाट प्रहरीले १६ वटा सुनको चक्की बरामद गरेको छ।
उक्त सुन चुमनुब्री गाउँपालिका हुल्चुकका ब्यापारी धनकमल गुरुङले ओढारमा ढुंगामुनि लुकाएर राखेको खुल्न आएको गोरखाका प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।
काठमाडौंमा पक्राउ परेका ब्यापारी धनकमले ओढारमा सुन लुकाएको ठाउँ देखाएका थिए । प्रहरीका अनुसार ओढारमा ढुंगामुनि झोलाभित्र हाते रुमालले बेरिएको, त्यसभित्र दुई वटा प्लास्टिकले ढाकिएको र त्यसभित्र बोरामा सुन राखिएको थियो ।
घटनास्थल नजिकैको माछाखोला प्रहरी चौकीले १२ ढिक्का सुन बरामद भएको जानकारी दिइए पनि जिल्ला प्रहरी प्रमुख एसपी अधिकारीले १६ ढिक्का नै भेटिएको पुष्टि गरेका हुन् ।
धनकमल असार ११ गते राति खच्चडलाई सुन बोकाएर गोरखाको उत्तरी सीमानाबाट धार्चे गाउँपालिकाको माछाखोलातर्फ आउँदै गर्दा लुटेरा समूहले आक्रमण गरेको धनकमलले खुलाएका थिए ।
त्यसपछि धनकमल सम्पर्कविहीन भएका थिए । अहिले भेटिएको सुन धनकमलको रहेको अनुसन्धानमा खुलेको छ।