नुवाकोटमा आजदेखि लकडाउन ,
साउन २३ ,काठमान्डौ – नुवाकोटका आजदेखि लकडाउन गरिएको छ। समुदायमा कोरोना भाईरस संक्रमण बढ्दै गएपछि आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ ।
सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने अत्यावस्यक र अनुमतिप्राप्त यातायातबाहेक अरु सबै बन्द गर्ने निर्णय गरेको हो।
यसैगरी राति ८ बजेदेखि बिहान ६ बजेसम्म एम्बुलेन्सबाहेक अरु सबै किसिमका सवारी साधन जिल्लामा प्रवेश रोक लगाईएको केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिए ।
उनका अनुसार अर्को निर्णय नहुँदासम्म बेलकोटगढी नगरपालिका–५ स्थित कोल्पुखोला पुलबाट दुईपिपलतर्फ जाने सडकबाट आवतजावतमा रोक लगाउने, क्वारेन्टिन तोकिएका होटलबाहेक अन्य सबै प्रकारका चिया पसल, होटल, लज तथा रेष्टुरेन्ट बन्द गर्ने, धार्मिकस्थलमा सामूहिक भेला हुन नदिने, सामूहिक भएर मनाइने मेला, जात्रा, पर्व तथा समारोह सञ्चालन गर्न नपाउने निर्णय बैठकले गरेको छ ।
बाह्र वर्षमुनिका बालबालिका, अशक्त व्यक्ति, बिरामी, ज्येष्ठ नागरिक र गर्भवती तथा सुत्केरीलाई अत्यावश्यक कार्यबाहेक घर बाहिर ननिस्कन तथा हिँडडुल नगर्न समेत भनिएको छ ।
बैठकले खेलकूदस्थल, फुटसल, जिमखाना, सैलुन तथा ब्यूटीपार्लर सञ्चालन, विद्यालयमा उपस्थित भई गरिने पठनपाठन, कोचिङ तथा ट्युसन सेन्टर सञ्चालन गर्न रोक लगाई वैकल्पिक सिकाइ विधिको अवलम्बन गर्न विद्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
उहाँका अनुसार यही निर्णयका आधारमा आजदेखि जिल्ला प्रशासन कार्यालयले प्रवाह गर्ने सेवा एक स्थानीय तहको लागि सातामा दुई दिन मात्र उपलब्ध गराउने निर्णय गरिएको छ ।
केन्द्रले जिल्लाको ८८ वटै वडामा वडाध्यक्षको संयोजकत्वमा ‘कोरोना रोकथाम समूह’ गठन गर्ने, जिल्ला प्रवेश गर्ने बेलकोटगढी नगरपालिकास्थित कोल्पुटार नाकालाई थप व्यवस्थित बनाउने तथा ककनी र शिवपुरी गाउँपालिकास्थित सबै नाकामा स्वास्थ्य सहायताकक्ष स्थापना गर्ने निर्णय पनि गरेको छ ।
यसैगरी आवतजावतमा कडाइ गर्ने र अतिआवश्यक कामबाहेकलाई मात्र पूर्वअनुमति लिएर आएकालाई मात्र प्रवेश गर्न दिने केन्द्रले जनाएको छ । कोरोना भाईरसको संक्रमण रोक्न जिल्लाले कडाई गरेको बताएको हो।