पर्सा झडपमा घाइते भएका नेकपा कार्यकर्ताको मृत्यु,
कार्तिक ७ ,वीरगञ्ज- बिहीबार भएको झडपमा गम्भीर घाइते भएका एक जना नेकपा कार्यकर्ताको उपचारका क्रममा मृत्यु भएको छ । पर्साको बिन्दवासिनी गाउँपालिकामा बिहिबार झडप भएको थियो।
नेकपाको विन्दवासिनी गाउँपालिका सचिव मुकेश चौरसियाको वीरगञ्ज पानीट्याङ्कीस्थित एलएस न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
झडपमा अर्का गम्भीर घाईते उत्तम तिवारीको उपचार नारायणी अस्पतालमा भइरहेको छ उनको अवस्था चिन्ता जनक रहेको नारायणी अस्पतालले जानकारी गरेको छ।
अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार उनको टाउकोमा चोट लागेको छ अहिले उनलाई सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
झडपमा संलग्न रहेको आशंकामा प्रहरीले बिहीबार ८ जनालाई नियन्त्रणमा लिएको थियो जसमा तीन जनालाई मात्रै हिरासतमा राखेक़ो छ । देवा सहनी, सुकवीन गद्दी र अनिश मियालाई प्रहरी हिरासतमा राखिएको डीएसपी मनोजीत कुँवरले जानकारी दिए ।