खिमलाल देवकोटालाई मतदान गर्न माओवादी केन्द्रको आह्वान

,काठमान्डौ – नेकपा माओवादी केन्द्र बागमती प्रदेशबाट राष्ट्रियसभामा रिक्त सदस्य पदको उपनिर्वाचन‍मा खिमलाल देवकोटालाई मतदान गर्न आह्वान गरेको छ। जेठ ६ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचन हुँदै छ।

सोमबार माओवादी केन्द्रका बागमती प्रदेश सहइन्चार्ज हितमान शाक्य, प्रदेश अध्यक्ष नारायण दाहाल‍ र संसदीय दलका नेता शालिकराम जमकट्टेलले संयुक्त विज्ञप्ति जारी गर्दै कलम चुनाव चिन्हमा मतदान गरी देवकोटालाई जिताउन अनुरोध गरेका हुन् ।उपनिर्वाचनका लागि खिमलाल देवकोटा र रामबहादुर थापा बादलको उमेद्वारी रहेको छ।

रामबहादुर थापाले पार्टीको नीति, विधि र अनुशासनलाई नमानेर प्रतिगमनकारी तत्वको मतियार भई गणतन्त्र, संघीयता र संविधान विरोधी गतिविधिमा लागेकाले नेकपा माओवादी पार्टीले कारबाही गरेपछि उनको राष्ट्रिय सभा सदस्यपद खालि छ।

बागमती प्रदेशमा २०७४ सालमा भएको निर्वाचनमा बादल नेकपा माओवादी केन्द्रबाट बिजयी भएका थिए। एमाले प्रवेशसँगै उनलाई माओवादीले कारवाही गरेपछि पद रिक्त भएको थियो।

खाली स्थानमा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाली कांग्रेस लगायतका अन्य पार्टीहरुको समर्थन र सहयोगमा साझा उम्मेद्वारको रुपमा डा.‍ खिमलाल देवकोटाले उम्मेद्वारी दिनु भएको छ ।

संघीयता, गणतन्त्रका उपलब्धिहरुलाई नीतिगत ढंगले सुदृढ गर्ने स्थान राष्ट्रिय सभामा यस विषयका विज्ञ, ज्ञाता र सक्षम व्यक्तित्व डा. खिमलाल देवकोटालाई विजय गराउन हामी संघीयता पक्षधरहरुको दायित्व बन्न आउँछ जारी विज्ञप्तिमा भनिएको छ।

देवकोटालाई एमालेकै माधवकुमार नेपालपक्ष कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को साथ छ भने । नेपाल पक्षले साथ नदिए थापा राष्ट्रियसभामा पुनर्निर्वाचित हुन गाह्रो हुनेछ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य एक जनाको मतबराबर ४८ मत र स्थानीय तहका प्रमुख र उपप्रमुखको एक मतबराबर १८ मत गणना हुने बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयले जनाएको छ। प्रदेशभित्र १ सय १० प्रदेशसभा सदस्यको ५ हजार २ सय ८० र १ सय १९ स्थानीय तहका २ सय ३८ अध्यक्ष र उपाध्यक्षका ४ हजार २ सय ८४ मत रहेको निर्वाचन कार्यालयले जनाएको छ।

जम्मा ९ हजार ५ सय ६४ मत रहेकोमा एमालेको मात्र मतसंख्या ९ हजार ५ सय ५६ छ। तीमध्ये प्रधानमन्त्री केपी शर्मा ओली पक्षका ३४ प्रदेशसभा सदस्यको १ हजार ६ सय ३२ मत छ। नेपाल पक्षका २३ प्रदेशसभा सदस्यको १ हजार १ सय ४ मत छ। माओवादी केन्द्रको २३ प्रदेशसभा सदस्यको १ हजार १ सय ४, कांग्रेसका २२ प्रदेशसभा सदस्यको १ हजार ५६ मत छ। नेमकिपाका दुईसहित अन्य आठ प्रदेशसभा सदस्य रहेका छन् ।