मृगलाइ हानेको गोलि आफ्नै साथीलाई लागे पछि

जेठ २०,विराटनगर – शिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्राले लागेर साथीको मृत्यु भएपछि फरार रहेका चारजना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनाल नेतृत्वको टोलीले केराबारी र लेटाङबाट चारजनालाई पक्राउ गरेको हो ।

प्रहरी चारवटा भरुवा बम्दुक पनि फेला पारेको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक  मानबहादुर राईका अनुसार  मोरङको केराबारी गाउँपालिका–३ का ४४ वर्षीय डिकबहादुर राई, ३६ वर्षीय बुद्धवीर लिम्बू, १९ वर्षीय रामप्रसाद राई र लेटाङ नगरपालिका–१ का १९ वर्षीय विपन लिम्बू पक्राउ परेका हुन् ।

शिकार खेल्न सँगै गएका साथीको बन्दुकको छर्राले लागेर मृत्यु भएपछि उनीहरु हतियार लुकाएर फरार भएका थिए ।

गत वैशाख ८ गते राति १० जनाको समूह केराबारीको बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा वन्यजन्तुको शिकार खेल्न गएको बेला मृगलाई ताकेर हानेको बन्दुकको छर्राले  केराबारी–३ का ३२ वर्षीय हस्त राईको घटनास्थलमै मृत्यु भएको थियो ।

३७ वर्षीय गजेन्द्र राईले मृगलाई हानेको भरुवा बन्दुकको छर्राले हस्तलाई लागेको थियो ।घटना भएको भोलिपल्ट गजेन्द्र र २६ वर्षीय रुविन लिम्बूलाई भरुवा बन्दुकसहित पक्राउ परेका थिए ।

अनुसन्धानकै क्रममा पक्राउ परेका दुई जनाले दिएको बयानका आधारमा प्रहरीले फरार रहेका अरुको खोजी गरिरहेको थियो । घटनामा संलग्नमध्ये तीन जना अझै फरार रहेका छन् ।