मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीको बहुमत सासंदसहित दाबी
काठमान्डौ – गण्डकी प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली आफूलाई मुख्यमन्त्री नियुक्ति गर्न माग गर्दै प्रदेश प्रमुखको निवास पुगेका छन्।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले दिएको समयभित्र कृष्णचन्द्र नेपालीले ३१ सांसदसहित आफूलाई मुख्यमन्त्री नियुक्तिको दाबी गर्न पुगेका हुन्।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा ५ अनुसार बहुमतको आधार प्रस्तुत गर्न आह्वान गरेकी थिइन्। त्यस्तै स्वतन्त्र सांसद दीपक मनाङे पनि विपक्षी गठबन्धनका साथ प्रदेश प्रमुख निवास पुगेका छन् ।
गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले हिजो मत नपाएपछि नयाँ सरकारको लागि बाटो खुलेको हो। हिजो प्रदेश सभा बैठकमा अनुपस्तिथित भएका मनाङेले विपक्षि गठबन्धनलाई सतह दिएका छन्।
कृष्णचन्द्र नेपालीलाई कांग्रेस, माओवादी, राजपा र राजमोले समर्थन गरेका छन् । ६० सदस्यीय प्रदेश सभामा सरकार बनाउन ३१ सांसदको समर्थन चाहिन्छ। नेपालीलाई ३१ सांसदले समर्थन गरेपछि मुख्यमन्त्री बन्ने पक्का भएको हो।

