प्रधानमन्त्री केपी ओलीको मन्त्रिपरिषदका २० मन्त्री पदमुक्त
काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर नियुक्त गरेका २० मन्त्रि पद मुक्त भएका छन्। सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गर्दै यस्तो निर्णय गरेको हो।
संविधानको धारा ७७ (३) को उपधारा १ मा प्रधानमन्त्रीको पद रिक्त भएमा अर्को मन्त्रिपरिषद गठन नभएसम्म सोही मन्त्रिपरिषदले कार्य सञ्चालन गर्ने व्यवस्था उल्लेख भएको भन्दै सर्वोच्चले मन्त्रिपरिषद विस्तारको अधिकार प्रधानमन्त्रीमा नदेखिने आदेश दिएको छ ।
मन्त्रिपरिषदबाट पदमुक्त हुनेहरुमा उपप्रधानमन्त्रीहरु रघुवीर महासेठ र राजेन्द्र महतो, मन्त्रीहरु खगराज अधिकारी, शरतसिंह भण्डारी, अनिलकुमार झा, शेरबहादुर तामाङ, राजकिशोर यादव, लक्ष्मणलाल कर्ण, नैनकला थापा, ज्वालाकुमारी साह, विमलप्रसाद श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी, एकवाल मियाँ, नारदमुनि राना, गणेशकुमार पहाडी, मोहन बानियाँ, राज्यमन्त्रीहरु चन्द्रकान्त चौधरी, रेणुका गुरुङ र आशा कुमारी विक रहेका छन् ।
जेठ ७ गते संसद विघटन गरिसकेपछि प्रधानमन्त्री ओलीले जेठ २१ मा एक उपप्रधानमन्त्री ९ मन्त्री र तीन राज्यमन्त्रीलाई हटाएका थिए भने उपप्रधानमन्त्रीसहित १० मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका थिए ।
काम चलाउ र मार्ग प्रसस्त भन्दै गरेका केपी ओलीले गैरसंवैधानिक ढंगले संसद विघटन गरेका थिए भने मन्त्री थप गरेका थिए। ओलीको गैरकानूनी विरुद्द अदालतमा ३० वटा रिट विवेदन परेका छन्।