Gold
Bangad salyan

आफ्नै ४९ सांसदले मन्त्री बनाउनु पर्ने माग राखेपछि प्रचण्ड तनावमा

काठमाडौं – नेकपा (माओवादी केन्द)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू निकै तनावमा रहेको बताएका छन ।

कम्युनिस्ट नेता नरबहादुर कर्माचार्यको ८ औँ स्मृति दिवसका अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीका ४९ जना सांसदको मन्त्री बनाउन दबाब आएको उल्लेख गरे ।

हामिले धेरै पाए सात मन्त्री पाउने हो त्यो भन्दा बढी छैन तर मलाई ४९ जना सांसदले मन्त्री चाहियो भन्नू हुन्छ सच्चिकै म आज निकै तनावमा छु उनले भने ।

यहाँ मन्त्री पाइएन भने नेतृत्वलाई सराप गर्ने, मन्त्री पाए मात्र काम गर्ने प्रवृत्ति अहिले जबरजस्त रूपमा विकास भएको छ । या ठूलै नियुक्ति पायो भने ठिक छ, पाएन भने नेतृत्व बदमासै हो भन्ने प्रवृत्ति छ ।

तीन चार दिनदेखि म निकै मानसिक तनाव भित्र छु ।  मलाई त ४९ जनालाई नै मन्त्री बनाइदिन पाए हुन्थ्यो जस्तो लागेको त छ ।हामी कुरा गर्दा कम्युनिस्ट पार्टी यस्तो हुनुपर्छ भनेर आदर्शका कुरा गर्ने तर चित्त भने मन्त्री पद पाइन्छ कि पाइँदैन भन्ने छ प्रचण्डले भने ।

उनले अहिले पद चाहिने संस्कृति विकास हुँदै गएको बताउँदै नरबहादुर कर्माचार्य कहिल्यै पनि पदको पछि नलागेको उल्लेख गरे ।सरल, सहज र निःस्वार्थ भावको नेता रहेको बताउँदै नेता कर्माचार्यसँगै छलफल गरेर आफूले जनयुद्धको थालनी गरेको पनि अध्यक्ष प्रचण्डले बताए ।

अहिले सङ्घर्षबाट प्राप्त भएको सबै उपलब्धि गुम्ने हो कि भन्ने अवस्थामा पुगेको बताउँदै संविधान, व्यवस्था मास्ने षडयन्त्र भएको प्रचण्डले उल्लेख गरे ।

उनले एकपछि अर्को गर्दै एकता गरेको पार्टीका नेता केपी ओलीबाट प्रतिगमनकारी घटना भएको बताउँदै ओलीले गरेका हरेक प्रतिगामी र प्रतिक्रान्तिकारी कामलाई तमाम देशभित्र र बाहिरका प्रतिक्रियावादीहरुले साथ दिएको बताए  । सर्वोच्च अदालतले जनभावना अनुसार फैसला गरेकोले जनताको जीत भएको दाहालले उल्लेख गरे ।