वरिष्ठ गायक जेबी टुहुरेको स्वास्थ्य अवस्था जटिल
भदौ ६ ,,काठमाडौं- वरिष्ठ गायक जुठबहादुर खड्गी (जेबी टुहुरे) को स्वास्थ्य स्थिति गम्भीर रहेको पाईएको छ। गत मंगलबार काठमाडौंको कलंकीमा अवस्थित निजी निवासमा एक्कासी लडेपछि उनलाई बल्खुस्थित बयोधा अस्पतालको सिसियू कक्षमा भर्ना गरिएको थियो ।
मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घ रोगी समेत रहेका टुहुरेलाई अप्रेसन गर्न जोखिमपूर्ण रहेकाले औषधिको माध्यमबाट उपचार जारी राखिएको उपचारमा संलग्न चिकित्सक बताउछन। ७८ वर्षीय टुहुरेलाई हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिए पनि सुधार हुन् सकेको छैन।
बिहीबार पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’अस्पताल पुगेर उनको स्वास्थ्य स्थिति बुझेका थिए । उनलेे टुहुरेको उपचारको सम्पूर्ण खर्च व्यहोर्न सरकारलाई आग्रह गर्ने बताएका थिए ।
अहिले टुहुरेको स्वास्थ्य अवस्था बुझ्न एमाले महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री जनार्दन शर्मा, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठलगायत पुगेका छन् । २० को दशकदेखि सांगीतिक क्षेत्रमा प्रवेश गरेका टुहुरेले १ सय ५० भन्दा बढी जनपक्षीय गीत रेकर्ड गराएका छन् ।
आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर’ बोलको गीत उनको बहुचर्चित गीत हो । सुनसरीको धरानमा जन्मिएका टुहुरे दोस्रो संविधानसभामा तत्कालीन एकीकृत नेकपा माओवादीबाट समानुपातिक सभासदसमेत बनेका थिए ।

