Gold
Bangad salyan

गाँउ गाँउबाट एमाले नेता, कार्यकर्तालाई लखेट्न सुरु गर्नुहोस : प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेलाई प्रतिवाद नगरी आउँदो चुनाव नजितिने बताएका छन् । शनिबार ललितपुरमा आयोजित पार्टी कार्यक्रममा उनले यस्तो बताएका हुन्।

यस्तै अध्यक्ष दाहालले एमाले नेता, कार्यकर्तालाई जाली, फटाहाको संज्ञा दिँदै उनीहरुको प्रतिवाद नगरी आगामी निर्वाचन जित्न नसकिने निष्कर्ष समेत निकालेका हुन्। देशैभर एमालेसँग प्रतिवाद गर्न गाँउ ,गाँउबाट फटाहा एमालेका कार्यकर्तालाई लखेट्न पनि दाहालले आफ्ना कार्यकर्तालाई बताए।

केपीको हातमा नेतृत्व छ र उनले फेरि एकचोटी माओवादीलाई सखाप गर्ने रणनीति लिएका छन् । उनले डेढ वर्षभित्र हामी सरकारमा जान्छौ भनेका छन् । देशैभर एमालेसँग प्रतिवाद नगरि चुनाव जितिँदैन । यो देश हामीले बचाउनु पर्छ, गणतन्त्र हामीले बचाउनु पर्छ ।

देशको रक्षा गर्नु पर्छ प्रचण्डले भने। देशको रक्षा गर्न, संविधानको रक्षा गर्न र गणतन्त्र बचाउनका लागि पनि एमालेविरुद्ध सशक्त ढंगले अघि बढ्नुपर्ने तर्क अध्यक्ष दाहालले निर्देशन गरेका छन्। प्रचण्डले अघि भने, ‘छाती खोलेर भन्नु… हामीले बनाएको हो संविधान । यिनीहरु विरोधी हुन् भन्दै हिँडनुहोस् ।

पार्टी कमिटी बनाउनुस्, जनतामा जानुस् । को बेइमान हो बुझाउनुस् । डेढ वर्ष आँखा चिम्लेर मेहनत गरौं ।उनले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा विजयी भएसँगै आफू खुसी भएको प्रतिक्रिया समेत दिएका छन् । अध्यक्ष दाहालले अगाडी भने ‘आज म खुसी छु ।

अब म देशलाई माया गर्ने, जनतालाई माया गर्ने असल मान्छे, उत्पीडित क्षेत्र, राष्ट्रको हित गर्ने सबै मान्छेहरुसँग सहकार्य भएको छ । शेरबहादुर जीले मलाई पाँच वर्ष नै तपाई प्रधानमन्त्री हुनुस्, हामी फ्लोरमा बसेर समर्थन गर्छौं भन्नुभएकाे थियाे तर जनताको बीचमा जान छोडेर प्रधानमन्त्री खान खोजे भने त म पनि प्रतिक्रियावादी जस्तै अवसरवादी हुने भएँ नि, त्यसैले मैले पाँचै वर्ष प्रधानमन्त्री दिँदा खाइँन । केपी ओलीको छलकपटले आफूहरुले पार्टी भित्रैबाट विद्रोह गर्नुपर्ने पनि प्रचण्डले बताए।