सर्वसम्मत नेतृत्व चयन ओलीलाई: भीम रावलले जनाए आपत्ति
काठमान्डौ – नेकपा एमाले दसौं महाधिवेशनको जारी बन्दसत्रमा सर्वसम्मत नेतृत्व चयन गर्ने सर्वाधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएपछी भीम रावलले आपत्ति जनाएका छन्।
बन्दसत्रमा ओलीनिकट नेता तथा महासचिवको दाबी गर्दै आएका विष्णु पौडेलले ‘सर्वसम्मतिको सर्वाधिकार अध्यक्ष ओलीलाई दिऊँ’ भन्ने प्रस्ताव राखेका थिए। उनले यस्तो प्रस्ताव राख्नेबित्तिकै बन्दसत्रमा सहभागी नेताहरूले उक्त प्रस्ताव पारित गराउन खोजे।
एमाले केन्द्रीय सदस्य शेरबहादुर तामाङले हलले उक्त प्रस्ताव पारित गरेको जानकारी दिएका थिए। तर यसबीच ओलीलाई सर्वाधिकार सुम्पने प्रस्तावमाथि रावलले आपत्ति जनाएको उनीनिकट नेता झपट रावलले बताए।
सर्वसम्मतिका नाममा पार्टीका सम्पूर्ण पदाधिकारी चुन्ने सर्वाधिकार ओलीलाई सुम्पनु भनेको एक व्यक्तिको हातमा पार्टीको पूर्ण बागडोर जिम्मा लगाउनु हो भनेर उनले आपत्ति जनाएका थिए ।
बरू यसको सट्टा विधानमै यसको व्यवस्था गरौं भनेर उनले भनेका थिए।नेकपा एमालेका १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय सदस्य प्रस्तावको जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिईएको छ।

