पूर्व राजा ज्ञानेन्द्र शाह र हिमानीशाहको नाममा कुनैपनि आईडी पेज छैन : सचिवालय
काठमान्डौ – पूर्व राजा ज्ञानेन्द्र शाहले कुनै पनि सामाजिक सञ्जाल नचलाउने उनको सचिवालयले जनाएको छ । शाहको नाममा खोलिएका एकाउन्ट र पेजबाट धेरै जना झुक्किएपछि सचिवालयले एक विज्ञप्ति जारी गर्दै त्यसको भ्रममा नपर्न आग्रह गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय समसामयिक घटना सन्दर्भ राष्ट्र र जनताको हितसँग सम्बद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राखी बक्सनु स्वाभाविक हो ।
तर, मौसुफबाट ट्विटर, फेसबुक वा कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको बेहोरा जानकारी गराइन्छ । यस्तो निराधार कपोलकल्पित भ्रम जालबाट मुक्त रहन सबैसँग आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुर्याउन समेत अनुरोध गरिन्छ ।
’त्यस्तै हिमानी शाहले पनि कुनै पनि सामाजिक सञ्जाल प्रयोग नगर्ने पनि विज्ञप्तिमार्फत भनिएको छ । श्री ५ युवराज्ञी हिमानी राज्यलक्ष्मी देवी शाहबाट ट्विटर, फेसबुक वा कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको बेहोरा जानकारी गराइन्छ ।
यस्तो निराधार कपोलकल्पित भ्रम जालबाट मुक्त रहन सबैसँग आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुर्याउन समेत अनुरोध गरिन्छ विज्ञप्तिमा भनीएको छ ।
पछिल्लो समय पूर्व राजा ज्ञानेन्द्र शाह र हिमानीशाहको नाममा आईडी र पेज बनाई विभिन्न पोस्टहरु हुने गरेका छन । यस्तै हालै सम्पन्न राप्रपाको महाधिवेशन र राप्रपा पूर्व अध्यक्ष कमल थापाको पराजितलाई लिएर सामाजिक संजालमा विभिन्न टीका टिप्पणी हुने गरेका छन।
त्यस्तै अहिले पूर्व राजा ज्ञानेन्द्र शाहले बुहारी हिमानीशाहलाई प्रधानमन्त्री बनाउने मास्टर प्लान भनेर विभिन्न खाले समाचार सम्प्रेषण भएका छन । ती सबै फेक र भ्रामक रहेको शाहको सचिवालयले जनाएको छ ।