Gold
Bangad salyan

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कडाइ

काठमान्डौ – कोभिड-१९ महामारीको जोखिम नियन्त्रणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य सावधानीमा कडाइ गरिएको छ ।

कोरोना महामारीको जोखिम नियन्त्रणका लागि विमानस्थलले स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना गर्दै विमानस्थल प्रवेश गर्ने ‘भिजिटर’लाई कडाइ गरेको हो ।

अन्तर्राष्ट्रिय उडानमा जाने यात्रुलाई बिदाइ वा स्वागतका लागि जाने भिजिटर पासमा कडाइ गरिएको हो। विमानस्थलका महाप्रबन्धक बोलाप्रसाद गुरागाईंका अनुसार कोभिड महामारीको सम्भावित जोखिम नियन्त्रणका लागि भिजिटर पासमा कडाइ गरी स्वास्थ्य मापदण्ड पालनालाई प्रभावकारी बनाइएको हो।

उनका अनुसार विमानस्थलमा जाने भिजिटरको पास पूर्ण बन्द गरिएको भने होइन। यस्तो गर्दा केहि दिनसम्म विमानस्थलमा भीडभाड कम हुने र महामारीको जोखिम पनि कम हुने बताईएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ वायुसेवा कम्पनीले उडान सेवा दिइरहेका छन् भने अन्तरराष्ट्रियमा दुई नेपालीसहित २० वायुसेवा प्रदायकले उडान भर्दै आएका छन् ।

विमानस्थलका महाप्रबन्धक गुरागार्इंका अनुसार अन्तर्राष्ट्रियमा १७ वटा नियमित र बाँकी चार्टर्ड गरी दैनिक २५ देखि ३० उडान हुने गरेका छन् । दुवैतर्फ गरी ५० देखि ६० उडान हुने गरेको छ । त्यस्तै आन्तरिकमा दैनिक ३०० हाराहारी उडान हुने गरेको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को निर्णयअनुरुप आगामी माघ ७ गतेदेखि विमानस्थलमा पुग्ने यात्रुलाई अनिवार्य रुपमा कोभिडविरुद्धको खोप लगाएको कार्ड साथमा संलग्न हुने व्यवस्था मिलाउने निर्णय गरेको थियो ।

अन्तरराष्ट्रिय उडानका यात्रुले ७२ घण्टे पिसीआर नेगेटिभ रिपोर्ट देखाउनुपर्ने हुन्छ । आन्तरिक उडानको हकमा माग ७ गतेदेखि हवाई यात्रुले खोप कार्ड देखाएर मात्रै हवाईयात्रा गर्न पाउने निर्णय भईसकेको छ।