Gold
Bangad salyan

आज पनि अधिकांश स्थानमा वर्षा र हिमपात, मौसम पूर्वानुमान महाशाखा

माघ २२ काठमाण्डाै – आज पनि अधिकांश स्थानमा वर्षा र हिमपात हुने भएको छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शनिबार पनि देशका अधिकांश स्थानमा वर्षा र हिमपात भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसममा सुधार हुन अझै केहि दिन लाग्ने छ। आज दिउँसोदेखि मौसममा हल्का सुधार हुने देखिएपनि केहि वर्षा तथा हिमपात हुने महाशाखाले जनाएको छ। अहिले प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा हल्का वर्षा भइरहेको छ।

यस्तै बिहानैदेखि उपत्यकाका केहि स्थानमा बर्षा भएको छ। महाशाखाको मौसम बुलेटिन अनुसार आज देशका प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ।

प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

रातिको समयमा पनि प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराईका भूभागमा मौसम सामान्यतया सफा रहनेछ। भोलि आईतबारदेखि भने देशभर मौसम सफा रहने महाशाखाले जनाएको छ।