Gold
Bangad salyan

प्यूठानमा जिप दुर्घटना मृतक ८ जनाकै सनाखत

माघ २२ काठमाण्डाै – प्यूठानमा बेहुला बेहुलीसहित जन्ती बोकेको जीप दुर्घटना हुँदा ८ जनाले ज्यान गुमाएकाहरु सबैको सनाखत भएको छ। दुर्घटनामा परि एकै परिवारका श्रीमान, श्रीमती र छोरीसहित ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

मृत्यु हुनेमा जिल्लाको गौमुखी गाउँपालिका वडा नं. ६ जिनाबाङका ३९ वर्षीय वसन्त खड्का, उनकी ३९ वर्षीया श्रीमती वसन्ती खड्का र उनीहरूकी ११ वर्षीया छोरी एलिसा खड्का रहेको गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु गिरीले जानकारी दिए।

त्यस्तै अन्य मृतकमा जीप चालक ५० वर्षीय बलबहादुर बुढा मगर, २९ वर्षीया केशरी खड्का, ३२ वर्षीय खिम खत्री, ५० वर्षीया नन्दी खड्का र नौबहिनी ६ लुङकी १८ वर्षीया विपना जिसी छन्।

अध्यक्ष गिरीका अनुसार दुर्घटनामा परि बेहुला २५ वर्षीय दानबहादुर खड्का, बेहुली १९ वर्षीया रीमा जिसी, २१ वर्षीय हरि बुढा मगर, १७ वर्षीय नरेश खड्का र २५ वर्षीया साबित्रा जिसी घाइते भएका छन्।

अध्यक्ष गिरीका अनुसार बेहुलीको एउटा हात नै चुँडिएको छ। गम्भीर घाइते बेहुलीसहित तीन जनालाई बुटवल रेफर गरिएको छ। बेहुला दानबहादुर खड्का र साबित्रा जिसीको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ।

नौबहिनी गाउँपालिकाको लुङ बाउनेबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको थियो।

रातभरी पानि परेको र चिप्लो बाटोका कारण जिप दुर्घटना भएको प्रहरीको भनाई छ।जिप सडकदेखि १५० मिटर तल खोल्सामा खसेको छ भने जिप पूर्ण रुपमा क्षत विक्षत भएको छ।