पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश

काठमाण्डाै- अभिनेता पल शाहलाई धरौटीमा छाड्न उच्च अदालत पोखराले अस्वीकार गरेको छ ।बलात्कार आरोपमा पुर्पक्षमा रहेका अभिनेता पल शाह पूर्णविक्रमले धरौटीमा रिहा हुन पाउँ भन्दै दिएको रिट निवेदनमा आज उच्च अदालत पोखरामा सुनुवाइ भएकोमा जिल्ला अदालतकै आदेशलाई सदर गरेको हो ।

शाहको पक्षबाट तीन र पीडितको पक्षबाट एक जना वकिलले बहस गरेका थिए । उच्च अदालत पोखराका सूचना अधिकारी विष्णु आचार्यले पलका म्यानेजर कृष्ण जोशीलाई पनि जिल्ला अदालतकै फैसला अनुसार कार्यान्वयन गराउन उच्च अदालतले फैसला गरेको बताए ।

जोशी १ लाख धरौटीमा छुटेका थिए ।तनहुँ जिल्ला अदालत र नवलपरासी जिल्ला अदालतको आदेशले बलात्कार मुद्दामा पुर्पक्षमा रहेका शाहले धरौटीमा रिहा हुन पाउँ भन्दै रिट निवेदन दिएका थिए । शाह एक नाबालिक गायिकालाई बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा छन् ।