Gold
Bangad salyan

सन्दीप लामिछाने जेल भित्र क्रिकेट खेल्दै

काठमान्डौ – बलात्कार आरोप मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने अहिले जेल भित्र क्रिकेट खेल्न थालेका छन।

सुन्धारास्थित भद्र बन्दीगृहभित्र रहेको खेलमैदानमा कैदीबन्दीसँग उनी क्रिकेट खेल्ने गरेका छन् । सन्दीपको यो रुचिमा अन्य कैदीबन्दी र जेल प्रशासनको पनि सहयोग छ ।

जिल्ला अदालतको आदेशमा गत १८ कात्तिकमा सन्दीप सुन्धारास्थित कारागार चलान भएका थिए । कारागार स्रोतका अनुसार त्यसको भोलिपल्टै उनले अन्य कैदीबन्दीसँग क्रिकेट खेलेका थिए । जेलभित्र टेनिस बलमा क्रिकेट खेल हुने गरेको छ । सन्दीप पनि टेनिस बलमै खेल्छन् ।

केन्द्रीय कारागारका जेलर ईश्वर पाण्डेका अनुसार भद्र र केन्द्रीय कारागार दुवैमा खेलमैदान छ । त्यहाँ फुटबल, क्रिकेट र टेबुलटेनिसलगायत खेल हुन्छन्,’ उनले भने, ‘वेलावेला आन्तरिक प्रतिस्पर्धासमेत हुने गरेको छ ।

भद्र बन्दीगृहमा करिब एक हजार कैदीबन्दी छन् । सन्दीप रहेको हलमा करिब ६५ जना कैदीबन्दी छन् । जेलभित्र चौकीदारको नेतृत्वमा कैदीबन्दीकै आन्तरिक प्रशासन हुन्छ ।

सोही प्रशासनले खानेदेखि खेलकुदसम्मका नियम बनाई लागू गर्दछ । जेलभित्र सबैका लागि सेवा–सुविधा समान हुने जेलर पाण्डे बताउँछन् ।

२० भदौमा उनीविरुद्ध जाहेरी परेकोमा २० असोजमा विदेशबाट फर्कँदा उनी पक्राउ परेका थिए । पीडित १८ वर्षभन्दा कम उमेरकी नाबालिका भएको भनेर जाहेरी परेको छ ।

तर, सन्दीपका वकिलले भने पीडितको उमेर १९ वर्ष भएको भन्दै जन्मदर्ताको विवरण पेस गरेका थिए ।

जुन विषयमा अदालतले पीडितको जन्मदर्ताको अभिलेख किताबसहितको सक्कल प्रति र पीडितको नागरिकता प्रमाणपत्र बनाउँदा भरेको अनुसूची फारमसहितको प्रतिलिपि सम्बन्धित कार्यालयबाट झिकाउने आदेश दिएको छ ।
आगामी ७ मंसिरमा पीडित तथा साक्षीहरूको अदालतमा बकपत्र हुँदै छ ।