Gold
Bangad salyan

आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध पक्राउ पुर्जी जारी

काठमान्डौ – नेपाल आयल निगम लिमिटेडका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
विशेष अदालतका न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बाँस्तोला र खुसीप्रसाद थारूको संयुक्त इजालसले सोमबार खड्काविरुद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएको हो।

उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २३ पुस ०७५ मा १८ करोड रुपैयाँभन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दा सुनुवाइका लागि खड्कालाई पटक -पटक ताकेता गर्दा पनि उपस्थित नभएपछि पक्राउ गरी इजलासमा हाजिर गराउन आदेश भएको हो।

अख्तियारले सुरुमा खड्काविरुद्ध पेट्रोलियम पदार्थ भण्डारण गृहनिर्माणका लागि चार स्थान (झापा, सर्लाही, चितवन र रुपन्देही)मा जग्गा खरिद गर्दा ठूलो रकम भ्रष्टाचार गरेको आरोपमा छानबिन थालेको थियो ।

खड्काको नेतृत्वमा निगमले चार स्थानमा ७६ बिघा १४ कठ्ठा जग्गा कुल दुई अर्ब ३३ करोड ४० लाख रुपैयाँमा खरिद गर्ने निर्णय गरेको थियो ।

चलन चल्तीभन्दा तीन गुणा महँगोमा जग्गा खरिदको बिल बनाई धमाधम भुक्तानी गर्न थालेपछि अनियमितता बाहिर आएको थियो ।

त्यसपछि संसदीय छानबिन समितिले अनुसन्धान गरेपछि भ्रष्टाचार प्रमाणित भएको थियो । सो जग्गा खरिदमा १ अर्ब ६ करोड रुपैयाँ घोटाला भएको संसद्को तत्कालिन उद्योग बाणिज्य तथा श्रमसम्बन्धी उपसमितिले ठहर गरेको थियो।

जग्गा खरिदमा घोटाला पुष्टि भएपछि खड्कालाई सरकारले बर्खास्त गरेको थियो। तर, उनले सर्वोच्च अदालत गएर पद थमौती लिएका थिए । त्यसपछि सरकारले खड्कालाई जिम्मेवारीविहिन बनाएपछि उनले २५ जेठ ०७५ मा पत्रकार सम्मेलन गरेर राजीनामा दिएका थिए ।

खरिद प्रक्रिया विवादित बनेपछि निगमले दुई अर्ब ५ करोड ६६ लाख रुपैयाँ भुक्तानी गरी ६८ बिघा जग्गाको मात्रै स्वामित्व लिएको छ ।

अख्तियारले जग्गा खरिदमा भ्रष्टाचार र अकुत सम्पत्ति आर्जनमा खड्काविरुद्ध मुद्दा दायर गरे पनि विशेषले जग्गा खरिदमा ‘क्लिन चिट’ दिएर अकुत सम्पत्ति आर्जनको मुद्दालाई मात्रै अगाडि बढाएको छ । बैशाख ४