हत्यारा रिगललाई आमआफिमा दिनुमा सर्वोच्चले माग्यो कारण ,परिवारलाई सुरक्षाको व्यबस्था

काठमान्डौ – चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका ‘रिगल’ भनिने योगराज ढकाललाई आममाफी दिएकोमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ।

नेपाल्गन्जका चेतन मानन्धरको हत्याका दोषी गुन्डा नाईके ‘रिगल’ लाई आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज बिहीवार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको इजलासले असोज २४ गते ५ बजेभित्र कारणसहित लिखित जवाफ पेस गर्न विपक्षीको नाममा आदेश दिएको हो ।

यस्तै सर्वोच्चले रिटको टुङ्गो नलागुन्जेल निवेदक तथा उनका परिवारलाई सुरक्षा प्रदान गर्न गृह मन्त्रालयका नाममा आदेश दिएको छ ।

यस्तै रिटमा समावेश भएको कानुनी प्रश्नको जटिलता र महत्त्वको विचार गर्दा यसलाई पूर्ण इजलासमै लैजान उपयुक्त भएको पनि आदेशमा उल्लेख छ ।

यो मुद्दालाई अग्राधिकारमा राखेर असोजको २५ गते नै सुनुवाइ गर्न पनि आदेशमा उल्लेख छ । यो मुद्दामा महान्यायाधिवक्ता आफैँलाई समेत बहसमा उपस्थित गराउन सर्वोच्चले महान्यायाधिवक्ताको कार्यालयलाई भनेको छ ।

चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेको कसुरमा जेल परेका ‘रिगल’ को १२ वर्ष कैद सरकारले संविधान दिवसका अवसरमा माफी दिएपछि चौतर्फी विरोध भइरहेको छ । मानन्धरकी श्रीमती भारतीले सर्वोच्च अदालतमा रिट दिनुभएको छ। असोज १८