सन्दीप लामिछानेलाई आज जिल्ला अदालतले सजाय तोक्दै

पुस २५

काठमान्डौ – बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेलाई आज जिल्ला अदालतले सजाय तोक्दै छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले चार दिनको निरन्तर बहसपछि पुस १३ गते गौशाला २६ माथिको बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेका थिए । यो मुद्दामा सजाय सजायतोक्न पुस २५ गतेको पेसी तोकेका थिए ।

आजको पेसीबाट लामिछानेको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण हुने छ । अदालतले गौशाला २६ नाबालिग नभएको ठहर गरेकाले सन्दीपलाई ७ देखि १० वर्षसम्म कैद सजाय हुनसक्ने कानुनका जानकारहरु बताउँछन् ।

न्यायाधीश शिशिरराज ढकालले सन्दीप लामिछानेले अपराध संहिता २०७४ को दफा २१९(१),(२),(३)ङ बमोजिम कसुर गरेको ठहर गरेका थिए ।

उक्त कानून व्यवस्था(दफा २१९(१),(२),(३)(ङ) मा १८ वर्षभन्दा माथिकालाई बलात्कार गरेको ठहर भएमा ७ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

जिल्लाको फैसलाको पूर्णपाठ तयार भएपछि त्यसमा चित्त नबुझेमा मुद्दाका दुवै पक्षले उच्च अदालत पाटनमा पुनवेदन दिन पाउनेछन् ।

राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका लामिछानेविरुद्ध २१ भदौ २०७९ मा उजुरी परेको थियो । सन्दीपले ५ भदौमा बानेश्वरबाट नगरकोट लगेको र राति फर्केर पिंगलास्थानस्थित होटल काठमाडौं इनमा लगेर बलात्कार गरेको उनको उजुरी थियो ।