अस्पतालबाट बच्चा चोरी लगेको आरोपमा दैलेखकि महिला पक्राउ
फागुन १२
काठमान्डौ – थापाथलीको परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट बच्चा चोरी लगेको आरोपमा काँडाघारी बस्ने महिला तथा उनकी दिदी र श्रीमान् पक्राउ परेका छन् ।
आरोपित महिला कर्णाली प्रदेश दैलेख घर भइ अहिले काँडाघारी बस्दै आएको तथा लामो समयसम्म बच्चा नभएको खुलेको छ ।
शिशु लैजाने महिलालाई उनकी दिदीले पनि सहयोग गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ । यसबारेमा दिदी र महिलाका श्रीमान्सँग सोधपुछ भैरहेको छ ।
जिल्ला प्रहरी परिसर काठमाण्डौका एसपी नवराज अधिकारीका अनुसार विस्तृत विवरण अनुसन्धानपछि खुल्नेछ ।
हिजो दिउँसो प्रसूति गृहबाट २६ दिनको शिशु एक महिलाले लिएर गएको उजुरी परेको थियो । सीसी टीभीमा कैद भएको दृश्यमा मास्क लगाएकी ती महिलाले शिशु लिएर हिँड्दै गरेको देखिएपछि हुलियाका आधारमा खोजी थालिएको थियो ।
शिशुलाई गएराति सकुशल काँडाघारीमा फेला पारेर परिवारलाई बुझाएको जिल्ला प्रहरी परिसर, काठमाण्डौले जनाएको छ ।
शिशु चोरी भएको भन्दै काभ्रे घर भएकी एक महिलाले उजुरी दिएकि थिइन् । उजुरीकर्ता ओपीडी जाँचका लागि थापाथली अस्पताल पुगेको बेला ती महिलाले केहीबेर खेलाउने भनेर बोकेको र लगत्तै शिशुलाई लिएर फरार भएको पीडितको भनाइ छ ।