कर्णालीका पूर्वमन्त्री नन्दसिंह बुढा भ्रष्टाचार मुद्दामा दोषी ठहर
पुष १०

सुर्खेत – कर्णाली प्रदेशका पूर्वमन्त्री नन्दसिंह बुढा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।
एमालेबाट निर्वाचित उनलाई १५ वर्षअघि अस्तित्वमै नरहेको विद्यालय खडा गरी सरकारी रकम भुक्तानी लिएको अभियोगमा विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो।
आर्थिक वर्ष २०६७/०६८ मा डोल्पा जिल्लाको तत्कालीन दुनै गाविस–२ र ३ अन्तर्गत तिप्ला क्षेत्रमा रहेको भनिएको दुर्गा प्राथमिक विद्यालयको दुई कोठे भवन निर्माण सम्पन्न भएको भन्दै झुटा कागजात तयार गरी चेकमार्फत ७ लाख ६० हजार रुपैयाँ भुक्तानी लिइएको अभियोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको थियो। उक्त विद्यालय वास्तविक रूपमा अस्तित्वमै नरहेको अख्तियारको दाबी छ।
यस प्रकरणमा अख्तियारले २०८२ असार १८ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
मुद्दाको सुनुवाइपछि विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले नन्दसिंह बुढासहित चार जनालाई दोषी ठहर गरेको हो।
अदालतले नक्कली विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका बुढासँगै तत्कालीन जिल्ला प्राविधिक कार्यालय डोल्पाका प्रमुख रविचन्द्र पञ्जियार, लेखापाल मनिराम कुर्मी र उपभोक्ता समितिका कोषाध्यक्ष संगीता बुढालाई पनि दोषी ठहर गर्दै प्रत्येकलाई एक लाख ९० हजार रुपैयाँ जरिवाना र एक वर्ष ६ महिना कैद सजाय सुनाएको छ।
दोषी ठहर भएका नन्दसिंह बुढा २०७४ सालमा नेकपा एमालेबाट कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। उनी **२०७५ सालमा तत्कालीन नेकपा (माओवादी केन्द्र)**का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा बनेको सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका थिए।
२०७८ सालमा एमालेको पार्टी निर्णय विपरीत अल्पमतमा परेका मुख्यमन्त्री शाहीलाई समर्थन गर्दै उनले फ्लोरक्रस गरी पुनः मन्त्री पद सम्हालेका थिए। त्यसपछि २०७९ सालमा उनी पुनः एमालेमै फर्किएका थिए।

