Gold
Bangad salyan

तिमि, तिमिले दिएको मास्क र म ,

यदि तिमि रिसाउदैनौ भने म सोध्न चाहान्छु,

चैत २२ ,काठमान्डौ – विश्व कोरोना भाइरस ( कोभिड १९ ) को महामारीबाट ग्रसीत बनीरहेको छ, विश्वभरका नागरिक त्रसीत बनिरहेका छन ।

विश्वमहाशक्ति राष्ट्रहरु हार मानिरहेका छन । विश्वका नाम कहलिएका चिकित्सकहरु यस भाइरस विरुद्धको भ्याक्सिनको खोजी र निर्माण गर्न अहोरात्र लागि परिरहेका छन ।

स्वास्थ्यकर्मीहरु र सुरक्षाकर्मीहरु जोखिम मोलेर ड्युटीमा खटिएका छन । सरकारले लकडाउन घोषणा गरेर अरु सबैलाई घर बस्न आग्रह गरेको छ ।

तर तिमि आज पनि लुखरुख लुखरुख गाउँ घुमेको देख्दैछु । हेर्दा तिमि न त स्वास्थ्यकर्मी जस्तो देखिन्छौ न त सुरक्षाकर्मी जस्तो , देखिन्थ्यौ पनि कसरी किनकी तिमि त्यो नै थिएनौ ।

यदि मैले तिमिलाई को हौ भनेर सोध्ने हिम्मत गरें भने सायद तिम्रो जवाफ हुन्छ होला म समाजसेवी या सरकारको राहात प्याकेज वितरण गर्न आएको मान्छे हुँ भनेर ।

यि दुवै मध्ये तिमि जो भएपनि तिम्रो हातमा हुने भनेको त्यहि केही थान साधारण मास्क र साबुन न हो । तिमि समाजसेवी हौ या सरकारका प्रतिािधि तिमि दुबैले रोज्यौ मास्कलाई नै किन ?

के गरिब र मजदुरको अहिलेको अपरिहार्य आबश्यकता मास्क र साबुन हो ? अहँ, म कदापि सहमत हुन सक्दिन किनकि मैले मेरो आफ्नै क्षेत्रको अध्ययन गर्दा (अपवाद बाहेक) दश रुपैया पर्ने मास्क र पच्चिस रुपैया पर्ने साबुन १÷१ थान ( बजारमा उपलब्ध भएमा ) ¬किन्ने हैसियत यस क्षेत्रका सबै नागरिक राख्छन ।

यतिबेला केही गरिब र मजदुरको बास्तविक आबश्यकता भनेको विहान बेलुकाको हातमुख जोड्ने हो । यदि तिम्रो मनमा असली सह्योग र सेवाको भावाना हुन्थ्यो भने निश्चित मापदण्डभित्र पर्ने बास्तविक गरिब मजदुहरुलाई परिवार संख्याको आधारमा लकडाउन अवधिभरि पुग्ने जति चामल, दाल, तेल र नुन को प्याकेज बाड्न पर्थ्यो ।

यसैमा तिनिहरुको उद्धार हुने थियो । यो कुरा तिमिलाई पनि थाहा थियो तर तिमिले त्यसो गरेनौ किन ? किनकी तिमिमा असली सह्योग र सेवा भन्दामाथि स्वार्थ लुकेको थियो ।

यो स्वार्थ कसैमा अलि सानो कसैमा अलि ठूलो थियो फरक त्यत्ति हो । मलाई थाहा छ, तिमि सह्योगको नाटक गरेर केहीले आफ्नो नाम चलाउन सेवाभाव देखायौ,।

कहीले जनताको आँखामा छारो हालेर राजनितिक प्रभावमा पार्ने प्रयास गर्दैछौ त कसैले कोरोना विरुद्धको लडाईलाइ विपत ब्यबस्थापन कोषमा खडा गरिएको कोषको रकम विपत ब्यबस्थापन होइन वित्त ब्यबस्थापन गर्न लागिरहेका छौ ।

यदि तिम्रो मनमा असली सह्योग र सेवा को भावाना भएको भए मानांै तिमिले दैनिक उपभोग्य बस्तुहरुको राहात प्याकेज दिन सकेनौ, / मास्क र साबुन नै ठिक छ भने पनि कम्तिमा पनि लकडाउन अवधिभर हात धुन पुग्ने साबुन र लगाउन मिल्ने मास्क किन दिएनौ ?

यदि तिमि रिसाउदैनौ भने म सोध्न चाहान्छु तिमिले दिएको एउटा साबुनले एउटा परिवारलाई कति दिन हात धुन पुग्छ?, तिमिले दिएको एउटा मास्क कति दिन लगाउन मिल्छ ?,

एउटा मास्क एउटा परिवारमा पालैपालो गरेर परिवारका कति जनासम्मले लगाउन मिल्छ ?,जे दियौ त्यो पनि आफ्ना र टाँठाबाठाहरुलाई मात्र किन दियौ ? लकडाउनको बेला घरमा सरक्षित बसेका ब्यक्तिसंग ठाउँ ठाउँ डुल्दै अर्काको घर किन पुग्यौ ?

३ फिटको तोकिएको दुरी तोडेर शरीर जोडेर सेल्फी नै किन खिच्नुपर्ने ? यस अर्थमा तिमि आफै कति सुरक्षित छौ र कतिलाई सुरक्षित वा असुरक्षित बनाउदै छौ ?कतै तिमि कोरोना सार्ने माध्यम त बनेनौ ? अब, छातिमा हात राखेर तिमि आफै भन तिमि को हौ ?

तिमिले दिएको मास्क,,

तिमिले जुन उद्देश्य राखेको भएता पनि तिमिले एक थान मास्क र एउटा साबुन दिएपछि तिमिलाई धन्यवाद भन्नुपर्ने हो तर माफ गर मैले तिमिलाई मन खुशी पारेर धन्यवाद भन्न सकिन ।

कारण तिमिले दिएको मास्क मास्क मात्र थिएन एउटा भ्रम पनि थियो । मुखमा मास्क लगाएपछि मलाई आफु सुरक्षित भएको गलत आभास हुन थाल्यो, ।

हिजोसम्म घरबाट बाहिर ननिस्केको मान्छे म तिमि यसरी खुलम खुल्ला गाउ घुमेको देखेर म पनि मास्क लगाएर साथीहरुले बोलाएको ठाउँ म्यारिज खेल्न जान थाले, जमघटमा जान थाले जहाँ गएपनि आफुलाई सरक्षित महसुस गर्न थाले कारण मैले मुखमा तिमिले दिएको मास्क लगाएको हुन्थे ।

तिमिलाई थाहा छ या छैन, त्यो म जान्दिन तर तिमिले दिएको त्यो मास्कले कोरोना भाइरसबाट बचाउन सक्दैन । किनकी तिमिले दिएको मास्क न त एन–९५ थियो न त सेनीटाइज्ड गरिएको ।

तिमि एकथान मास्क हातमा थमाएर एउटा सेल्फी खिचेर हतार हतार निस्किहाल्यौ किनकि तिमिलाई एकथान मास्क बाडे वापत एउटा सेल्फी लिनुपर्ने हतार थियो । यस्तै गर्दै म संग आइपुग्दा तिमिले कतिलाई भेट्यौ?

कति संग प्रत्यक्ष सम्पर्कमा रहेर आयौ? कतिबाट संक्रमण बोकेर आयौ कि? कतिलाई संक्रमण सारेर आयौ कि? यस अर्थमा तिमि आफै मनन गर तिमिले दिएको मास्क कति प्रयोग गर्न योग्य हुन्छ होला ?
म,,
तिमिलाई यति भनिरहदा मलाई तिमिप्रति कुनै रिस,द्वेष केही पनि छैन । यि त केवल मेरा मनमा उब्जिएका र मानसपटलमा खेलेका कुराहरुलाई अभिब्यक्त गरेको हँु ।

म माफी चाहान्छु तिमिलाई यति भनेकोमा होइन बरु तिमिलाई यति गर्न तम्साएकोमा । म कस्तो समाजमा हुर्के। म आफैलाइ अचम्म लाग्छ आफैप्रति ।

म दिनहँु सय पचास रुपैया रिचार्जकार्डमा सक्छु, दुईचार सय सेन्तेरेम खादै सक्छु तर फ्रिमा भन्न साथ मास्क , साबुन, जे सुकैहोस आफुले पाउनैपर्ने, छुटयाईएको जुनसुकै कोटा होस म पर्नै पर्ने , ।

दश रुपैयाको मास्क पाउन वीस रुपैयाको ब्यालेन्स सकेर फोन गरेर दवाव दिने, पाँच किलो चामल राहातमा पाउन पाँच वर्षमा अमूल्य हुने मत लाई साट्ने, लकडाउनको बेला बेलुकी भट्टी जान पास कार्ड मलाई बनाईदिनुपर्ने ।

यस्तै यस्तै… हो मेरा यस्तै लालचीपनको कारण आज तिमि म बाट फाइदा उठाउन खोजिरहेका छौ । मलाई घृणा छ तिमिप्रति र हिनताबोध छ म स्वयंप्रति म जस्तो म बन्न नसकेकोमा ।

भीमप्रकाश ओली,
गुर्भाकोट नगरपालिका–६, सुर्खेत ।