(परदेशबाट भावुक पत्र ) सरकार चीनमा डाक्टर पढ्न गएकालाई उद्दार गर्यौ ,खाडीका हामि नेपालि हैनौ र ।
पढ्नुहोस ,
वैशाख ६ ,काठमान्डौ – सरकार ।। डराइ डराइ झ्यालबाट बाहिर नियाल्छु खाडीमा प्रचण्ड सुर्यको रापको बिचमै तमासले ठुला ठुला बिल्डिङ्गहरुले त एक्लो छस,तेरो कोही छैन भनेझैं लाग्छ ।
उदास भएर अनलाइनका खबरहरु हेर्छु मृत्युको भय जताततै ब्याप्त देख्छु त्यै पनि सबैभन्दा पहिले आफ्नो घरको याद आउँछ ।
त्यहाँ केही नहोस मनमनै गम्छु भाग्यले त्यता कुशल मङ्गल देख्छु मन फिरेर त्यहीँ पुगौ झै हुन्छ हटास मन सङ्गै बन्द कोठामा निसासिनुको बिकल्प केही छैन यहाँ ।
आशुले टिल्पिलाएको आँखा एक्कासी चामलको बोरामा जान्छ, एउटा गेडो बाहिर देख्दा पनि बडो मायाले टिपेर बोरामै हाल्छु अब चामल सकिने दिन नजिकिदै छ,५ दिन पहिला ल्याएको दाल अब झोल बन्न तत्पर छैन तरकारी टाढाको कुरा भो ।
गोजीमा जति पटक छामे पनि यहाँको ५० भन्दा भेटाउदिन,सबै पेन्टहरुको गोजीमा छाम्छु कतै कहिलेकाहीँ भुलेर राखेको पैसा त छैन जो म अक्सर लुगा धुने बेलामा भेट्टाउने गर्थें, यो सबै प्रयास र आशा शून्य छ ।
कम्पनी बन्दछ, खाने पिउनेको कुनै प्रबन्ध छैन को सङ्ग कराउँदै हिडु? कस्लाइ बिलौना गरुँ ?
दुई-चार जना म जस्तै साथीहरुको मलिन मुहार हेर्नू सिबाय केही छैन यहाँ , सोच्छु मेरो देशले मेरो सरकारले अबत पक्कै नेपाली झण्डाले पोतिएको जहाज पठाउछ म त्यस्मै भुरुरु उडेर जान्छु किनकी मलाई थाहा छ ।
चिनमा नेपाली दाजुभाइ लिन सरकारले जहाज पठाएको थियो, मेरो साथी भन्छ “यो खाडी हो चिन हैन, हामी कामदार हौँ डक्टर पढ्न आएका बिद्यार्थी हैनौ।
सरकार हामी काम गर्न आउने जनता नेपाली होइनौं र ? देशले केही गर्न नसके पछि मात्र खाडीको लाहुरे भएका होइनौं र ? हामी खाडीका तोरी लाहुरेहरुले रगत पसिना बगाए पछि देशलाई आएको रेमिटान्स हाम्रो देन हैन र?
हामी आफ्नो परिवारको लागि बिदेशिएका हौं परिवारको एक गाँस भात र एकसरो लुगाको लागि धेरै खुसीहरु पैसा सङ्ग साटेका छौँ डर हामीलाई पनि छ हामीबाट यो कोरोना आफ्नो प्राण भन्दा प्यारो परिवारमा नसरोस देशमा नजाओस ,।
हामी संक्रमीत भए हामीलाई देश नलैजाउ सरकार हामी हाम्रो परिवार र देश बर्बाद गर्न चाहादैनौ चेक गर हामी संक्रमणमा छैनौ भने आफ्नो जन्मभुमी टेक्न देउ,।
यो महामारीको बिपदमा परिवार सङ्गै बसेर लडन देउ , त्रसित मेरा नाबालक छोराछोरीलाई मायाले सुम्सुमाउदै फकाउन देउ, बुढा बाबा आमाको वरिपरि हुन देउ ।
हामी धेरै जीउँदै मरिरहेका छौँ यहाँ । कि उद्दार गर सरकार कि बिष पठाइदेउ पलपल मर्नु भन्दा एकैचोटी मर्न सजिलो हुन्छ हैन र ?
यो हाम्रो पीडा सबैले सेयर गरिदिनु होला !!
उही खाडीको
नेपाली,

