कोरोना संक्रमित दोश्रो युवती ठिक भएर घर फर्किइन्,
वैशाख ६ ,काठमान्डौ – नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किएकी छन् ।
गत चैत १० गते कोभिड १९ को संक्रमण फेलापरेपछि उपचारार्थ युवती शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनले आफू पूर्ण निको भएर फर्किएको सञ्चार माध्यमलाई प्रतिक्रिया दिएकी छन् ।
काठमाडौं घर भएकी ती युवती चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् ।उनको शुक्रबार गरिएको कोरोना संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो शनिबारको रिपोर्ट पनि नेगेटिभ आएकाले डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले बताए ।
आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको युवतीले बताईन । फ्रान्सदेखि कतारसम्म सँगै जहाजमा आएको भियतनामको साथीमा कोरोना संक्रमण पुष्टि भएपछि उनी स्वास्थ्य जाँचका लागि चैत ९ गते टेकु अस्पताल पुगेकी थिइन् ।
त्यहाँ नमुना जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।उनी आएको कतार एयरवेजको क्यू आर ६५२ को जहाजमा नेपाल आएका बागलुङका अरु दुई जना नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
उनीहरु धौलागिरि अस्पतालमा उपचाररत छन् । नेपालमा गत माघ ९ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए ।उपचारपछि उनि घर फर्किसकेका छन् । हाल सम्म नेपालमा ३० जनामा कोरोना संक्रमण फेला परेको छ ति मध्ये २ जना निको भएका छन् ।

