Gold
Bangad salyan

चन्द्रागिरीमा पाँच जनालाई कोरोना संक्रमण देखिएपछि सिल ,

जेठ ३ ,काठमान्डौ – काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरी नगरपालिकाले पाँच जनामा कोरोना परीक्षण रिपोर्ट पोजिटिभ देखिएपछि उक्त क्षेत्रलाई सिल गरेको छ ।

नगरपालिकाले सशस्त्र प्रहरी अस्पताल बलम्बुमा ४८५ लाई गरेको पिसिआर परीक्षणमा पाँच जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएपछि लकडाउनलाई कडाइ गर्न लागेको हो।

परीक्षण गरिएका ४८५ मध्ये ७२ जनाको रिपोर्ट आउन बाँकी रहेको छ। पोजिटिभ रिपोर्ट आएकामध्ये वडा नं ९ मच्छेगाउँका एक, वडा नं १ दहचोकका एक, वडा नं १२ बलम्बुका एक र दुई सशस्त्र प्रहरी बलमा कार्यरत व्यक्ति रहेका छन्।

सशस्त्रका दुईमध्ये एकजना अस्पतालमा कार्यरत र अर्को एकजना भक्तपुरको दुवाकोटमा बस्दै आएका थिए।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले चन्द्रागिरीमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेकाले नगरपालिकाभित्र तीन दिनका लागि लकडाउनलाई कडाइ गर्न लागेको जानकारी दिए। ‘

भोलिदेखि तीन दिनसम्म नगरपालिकाभित्रका औषधी पसलबाहेक अन्य पसल र नगरपालिकाभित्र हुँदै आएका विकास निर्माणका कार्यलाई सञ्चालनमा रोक लगाउने निर्णय गरेका छौँ’, उनले भने।

बिरामी मानिस हिँडडुल गर्नुपरेमा सामाजिक दूरी कायम राखी, स्यानेटाइजर, माक्स र पञ्जा लगाएर मात्र हिँड्न आग्रह गरिएको प्रवक्ता महर्जनले बताए।

नगर प्रमुख घनश्याम गिरीले चन्द्रागिरिमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै चेकजाँचको सङ्ख्यालाई समेत वृद्धि गरिएको जानकारी दिए।रासस ,