सीमाको सुरक्षा सेना भन्दा नागरिकले गर्न सक्छन : गृहमन्त्री
असोज १० ,दार्चुला – सुरक्षा सुरक्षाकर्मीबाट भन्दा स्थानीय वासिन्दाबाट प्रभावकारी रुपमा सीमाको सुरक्षा गर्नसकिने गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन्। सीमाको रक्षा गर्न सेनाले मात्र नभई सिमा क्षेत्रका नागरिकले झनै राम्रो संग गर्ने खलङ्गामा आयोजित पत्रकार सम्मेलनमा थापाले यस्तो बताएका हुन् ।
दार्चुलाको उत्तरी सीमा क्षेत्र रणनीतिक महत्वको रहेको बताउँदै गृहमन्त्रीले विश्वका दुई ठूला देश चीन र भारतसँग सीमा जोडिएको यस क्षेत्रलाई सरकारले विशेष महत्व दिएको बताएका हुन् । उक्त क्षेत्रमा पर्यटनको ठूलो सम्भावना समेत रहेकाले यहाँको विकासलाई सरकारले विशेष प्राथमिकता दिएको थापाले उल्लेख गरे।
उक्त क्षेत्रमा अध्यागमन स्थापनाको लागि छिट्टै आवश्यक निर्णय लिने र व्यासमा प्रभावकारी सञ्चार सुविधाका लागि थप टेलिफोन लाइन जडान गरिने पनि गृहमन्त्रीले बताए। व्यासमा रहेको सीमा प्रशासन कार्यालयलाई छिट्टै सञ्चालनमा ल्याउने र कर्मचारीलाई स्थायी रुपमा राख्ने गरी पठाउने तयारी गर्छौ उनले भने।
गृहमन्त्री थापासँग व्यासको छाङ्गरुमा सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनाल, गृहसचिव महेश्वर न्यौपाने, दार्चुलाका सांसद गणेशसिंह ठगुन्ना, राजनीतिक सल्लाहकार सूर्य सुवेदी, सुरक्षा सल्लाहकार इन्द्रजीत राई, नेपाली सेनाका सहायकरथी पवनराज घिमिरे, सशस्त्र प्रहरीका एआईजी रामशरण पौडेललगायत सहभागी भएका थिए।

