Gold
Bangad salyan

दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्या मुद्दामा फरार एक जना पक्राउ,

माघ २६ सुर्खेत – दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्या मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार दैलेखको महाबु गाउँपालिका,६ का ६८ वर्षीय जयबहादुर शाहीलाई जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो।

हत्या मुद्दामा शाहीलाई २०७१ मंसिर २१ गतेको फैसलाले दुई वर्ष कैद सजाय तोकेको छ ,उनले १ वर्ष ७ महिना १ दिन कैद भुक्तान गरिसकेपछि फरार रहेका थिए। पक्राउ गरिएपछि उनलाई बाँकी कैद भुक्तान गर्न कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

२०६१ साल साउन २७ गते पत्रकार डेकन्द्र थापाको हत्या भएको थियो। सशस्त्र द्वन्द्वका बेला तत्कालीन विद्रोही पक्ष माओवादीले उनको हत्या गरेका थिए ।थापाको दैलेखको नौमुले गाउँपालिकामा पर्ने साविकको द्वारी गाविस–१ मा शव खाडलमा गाडेको अवस्थामा भेटिएको थियो।

हत्यापछि पत्रकार थापाकी श्रीमती लक्ष्मीले जिल्ला प्रहरी कार्यालय दैलेखमा २०६५ भदौ ५ गते ९ जनाविरूद्ध किटानी जाहेरी दिएकी थिइन्। त्यसबेला पाँच जनालाई प्रहरीले पक्राउ गरेको थियो ।