प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ
वैशाख ३१ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
शुक्रबार दिउँसो २ बजेपछि राष्ट्रपति कार्यालय शीतल निवासमा ओलीले तेस्रो पटक प्रधानमन्त्रीको रुपमा शपथ लिएका हुन् । वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिन नसकेपछि पदमुक्त भएका ओली बिहीबार साँझ ठूलो दलको नेताको हैसियतमा फेरि प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
राष्ट्रपतिले प्रधानमन्त्री पदमा दावीका लागि तोकेको समय सीमाभित्र कसैको पनि दाबी नपरेपछि संविधानको धारा ७६ को (३) बमोजिम संसदको ठूलो दलको नेताको हैसियतमा ओली प्रधानमन्त्रीमा पुनः नियुक्त भएका हुन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक अंगका प्रमुखलगायत सहभागी थिए ।

