सुर्खेतमा राउटे युवतीलाई होटलमा राखेर भिडिओ बनाउने होटेल संचालकसहित तीन जना पक्राउ
जेठ २३, सुर्खेत – लोपोन्मुख राउटे समुदायका युवतीहरूलाई होटलमा लिएर मदिरा सेवन गराई भिडियो बनाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
सुर्खेतको गुर्भाकोट नगरपालिका-९ बोटे चौरका ३५ वर्षीय चमनसिंह घर्ती, २४ वर्षका भूपेन्द्र बुढा र २९ वर्षका मिलन पुनलाई आइतबार बिहान ३ बजे प्रहरीले पक्राउ गरेको हो।
पुन होटल सञ्चालक हुन्। उनको होटलमा उनीसहित तीन जना युवाले राउटे समुदायकी युवतीहरूलाई लिएर आफू अर्धनग्न बनेर भिडिओ बनाएका थिए।
भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड भएपछि पक्राउ गरिएको हो।
भिडिओमा राउटे युवतीहरूले आफूलाई डिस्टर्ब भएकोले बाहिर जान भनेकी छिन्। ती युवाहरूले भने जबर्जस्ती भिडियोमा युवतीलाई बोल्न लगाएका छन्।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले उनीहरूलाई कानुनी कारबाहीका लागि थप अनुसन्धान भइरहेको जानकारी दिए।
हाल राउटे समुदाय गुर्भाकोट नगरपालिका-११ आँपसोतीस्थित भेरी नदीको किनारामा बस्दै आएका छन्।

