Gold
Bangad salyan

जातीय भेदभाव तथा छुवाछुतविरुद्ध गोरखामा युवाहरुले कालोपट्टी बाँधेर प्रदर्शन

गोरखा – जातीय भेदभाव तथा छुवाछुतविरुद्ध गोरखामा युवाहरुले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । मानव-मानवबीचको जातीय विभेदकारी घटनाका दोषीलाई कानुनी कारबाही गरी पीडितको आत्मसम्मानको रक्षा र न्यायको पक्षमा उभिन माग गर्दै आइतबार सदरमुकाममा संयुक्त सचेत दलित संघर्ष समितिले प्रदर्शन गरेको हो ।

प्रदर्शनको प्रमुख नेतृत्व नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य गोरखा जिल्लाका दलित संगठनका अध्यक्ष दिल बहादुर सेन्चुरी ,अन्य युवाहरू अखिल क्रान्तिकारी केन्द्रीय सदस्य आरके भट्ट अखिल क्रान्तिकारीकै केन्द्रीय सदस्य बाबुराम नेपाली दिनेश नेपाली बाल कृष्ण परिवार आसा उपरकोटी लगायतले आफ्नो भनाई राखेका थिए।

 

सहभागीले ‘जातीय भेदभाव, छुवाछुत र कसुर सजाय ऐन अक्षरस पालना गर, शब्द र बोलीमा होइन व्यवहारमा लागू गर, समाज बदल्न आफ्नो घरबाट सुरु गरौं, मेरो लडाइँ छुवाछुत विरुद्धको हो, आवाज उठाऊ युवाहरु, हामी नबोले को बोल्ने, उठ युवा जाग अब जातीय विभेद अन्त्य गरौँ, दलित समुदायप्रति भेदभाव बन्द गर, मानव भएर आखिर कहिलेसम्म मानव हुनलाई नै संघर्ष गर्नुपर्ने’ लगायतका प्लेडकार्ड बोकेका थिए ।

वर्षौंदेखि चलिआएको जातीय विभेदका साथै जातकै आधारमा हुने विभिन्न प्रकारका सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक, लैङ्गिक, धार्मिक, सांस्कृतिक क्षेत्र एवं अन्य रुढीग्रस्त कुसंस्कार उच्च विकासको चरणमा अघि बढिरहेको वर्तमान अवस्थामा समेत देखिएको भन्दै कार्यक्रममा सहभागी युवाहरुले चिन्ता जनाए ।

उच्च जातका भनिएका समाजका केही व्यक्तिद्वारा सिंगो दलित समुदायमाथि सामाजिक, सांस्कृतिक र अन्य कुनै रुपमा छुवाछुत तथा दमन गर्ने जस्ता क्रियाकलाप भइरहेको कार्यक्रममा सहभागी आनन्द नेपालीले बताए । ‘जातीय विभेद हट्न सकेन, अब जागाैं सहने होइन भनेर दबाबमूलक विरोध कार्यक्रम गरेका हौँ,’ उनले भने ।