शंकर पोख्रेल फेरी अल्पमतमा तत्काल राजीनामा गर्न विपक्षीको माग
वुटवल – लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले फेरी अल्पमतमा परेका छन्। जनता समाजवादी पार्टीबाट राज्यमन्त्री बनेकी सुमन शर्मा रायमाझीले शुक्रबार पदबाट राजीनामा दिएसँगै उनको सरकार अल्पमतमा परेको हो ।
लुम्बिनी प्रदेशसभामा हाल कायम ८३ सांसदमध्ये सत्तारुढ एमालेका ३८ जना छन् । जसपाका ४ जना सांसद सरकारमा हुँदा सरकारको पक्षमा बहुमत थियो । तर राज्यमन्त्री रायमाझीको राजीनामासँगै सरकारको पक्षमा ४१ जना सांसद मात्र हुन पुगेका छन् ।
सरकारलाई बहुमत पुग्न कम्तीमा ४२ सांसद चाहिन्छ । लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित १९, जनता समाजवादी पार्टीका ३ जना र राष्ट्रिय जनमोर्चाका एक जना गरी ४२ जना सांसद सरकारको विपक्षमा छन् ।
सरकारले बहुमत गुमा एपछि नैतिकताको आधारमा राजीनामा गर्न विपक्षले माग राखेको छ। मुख्यमन्त्रीले सरकारमा बहुमत गुमाईसकेपछि नैतिकताको आधारमा एक छिन पनि सरकारमा बस्न नमिल्ने नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले बताए।
माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीका अनुसार वैशाख १९ गते नै मुख्यमन्त्रीले बहुमत गुमाएको भए पनि प्रदेश प्रमुखसँगको मिलेमतोमा स्वेच्छाचारी ढंगले पुनः नियुक्त भएको दाबी गरे। अहिले त अल्पमतमा अपरेको सबैले देखेका छन्। उँहाले तत्काल राजीनामा गरेर मार्गप्रसस्त गर्नुपर्छ उनले भने।
बहुमत गुमेको थाहा पाएरै वैशाख १९ गते राजीनामाको नाटक गरेर पार्टी छाडेका,उपसभामुख र उपस्थित नै नभएका सांसदको किर्ते हस्ताक्षर बुझाएर जालसाजीपूर्वक पोख्रेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए। जालझेलमा दुई महिना टिकेका उनलाई अब त लाजपनि लाग्यो होला घर्तिले भने।
जनता समाजवादी पार्टीका संसदीय दलका नेता सहषराम यादवले पनि मुख्यमन्त्री नियुक्त हुँदा नै सरकार अवैधानिक रहेको बताए। अब आफ्नो पार्टीका सांसदले राज्यमन्त्रीबाट राजीनामा दिई सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।सरकार अल्पमतमा परेसँगै सरकारले प्रदेशसभामा पेश गरेको बजेट पारित नहुने सम्भावना बढेको छ । प्रदेशसभाको बैठक असार २७ गते बोलाईएको छ ।

