जातीय विभेदको आरोप लागेका शिक्षामन्त्री श्रेष्ठ र घरबेटीलाई सर्वोच्चले माग्यो लिखित जवाफ
काठमान्डौ – जातीय भेद्भाव तथा छुवाछूत कसुर आरोपमा पक्राउ परेकी घरबेटीलाई प्रहरी कार्यालयबाट रिहा गराई आफ्नै गाडीमा हालेर लैजाने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्लाई सर्वोच्च अद्लातले लिखित जवाफ माग गरेको छ ।
सञ्चारकर्मी रुपा सुनारले आफूमाथि जातीय विभेद गरेको भनि घरबेटी सरस्वति प्रधान र मन्त्री श्रेष्ठलाई पदबाट बर्खास्त गर्न भनि दिएको रिट निवेदनमा सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले महान्यायाधीवक्ताको कार्यालयमार्फत १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश गरेको हो ।
सर्वोच्च अदालतले मन्त्री श्रेष्ठसँग जातीय भेद्भाव तथा छुवाछूत कसुर आरोपमा पक्राउ परेकी घरबेटीलाई छुटाउनुको अधार र कारणसहित जवाफ माग गरेको छ ।
सुनारले आफूविरुद्ध जातीय आधारमा छुवाछूत भएको र त्यसरी छुवाछूत गर्ने व्यक्तिलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले संरक्षण गरेको भन्दै असार २० गते सर्वोच्चमा रिट निवेदन दायर गरेकी थिइन् ।
तल्लो जात देखाउँदै बबरमहलकी घरबेटी सरस्वती प्रधानले सुनारलाई कोठा नदिएपछि उनले प्रहरीमा जाहेरी दिएकी थिइन् । घरबेटी प्रधानलाई प्रहरीले पक्राउ गरि अनुसन्धानको लागि तिन दिन थुनामा राख्न आदेश दिएको थियो।
त्यहि बेला शिक्षामन्त्री श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगे र प्रधानलाई रिहा गराई आफ्नै झण्डावाला गाडीमा बसालेर लागेका थिए । मन्त्री श्रेष्ठलाई कारबाहीको माग गर्दै देशभर उनको पुत्ला जलाईएको थियो भने पदबाट बर्खास्तको माग गरिएको छ।



