Gold
Bangad salyan

एमालेको स्थायी कमिटी बैठकमा नेपाल पक्ष नजाने

साउन १ काठमान्डौ – एमाले अध्यक्ष केपी शर्मा ओलीले आज शुक्रबार स्थायी समिति बैठक बोलाएका छन् । अध्यक्ष ओलीको निर्देशनमा महासचिव ईश्वर पोखरेलले शुक्रबार ११ बजे बस्नेगरी स्थायी कमिटी बैठक बोलाएका हुन् ।

बैठकमा एमाले पक्षका नेताहरुलाई आउन खबर गरिएको हिजोनै जानकारी भएको थियो। बैठक ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा बस्ने छ। तर असन्तुष्ट माधव पक्षका नेताहरुले एकपक्षीय ढंगले बोलाएको बैठकमा नेपाल पक्ष नजाने बताएको हो।

यसअघि गत असार २७ गते एमाले विवाद समाधान गर्न गठित कार्यदलले एमाले एकतासम्बन्धी १० बुँदे सुझाव अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई बुझाएको थियो ।

कार्यदलले स्थायी कमिटी बैठक बोलाउनुअघि अध्यक्ष ओली र नेपालबीच भेटवार्ता गरेर सहमतिमा बैठक बोलाउन सुझाव दिएको थियो । तर दुवै नेताबीच भेट नहुँदै ओली पक्षले बैठक आवाहन गरेपछि नेपाल पक्ष नजाने निर्णय गरेको हो।

असार २८ गते सर्वोच्चको फैसलापछि ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई गद्दार भन्दै आरोप लगाएका छन्। जसले गर्दा एमाले एकतामा झनै शंकट पैदा भएको छ। वालुवाटार छोडेर ओलीको निजि निवास बालकोट पुगेर पनि उनले नेपाललाई एमालेमा ठाँउ नभएको बताएका थिए।