झारफुकको नाममा बालिकाको मृत्यु भएपछि माता जेल चलान
काठमान्डौ – जिल्ला अदालतले सिन्धुपाल्चोककी १४ वर्षीया बालिकाको मृत्यु प्रकरणमा झारफुकमा संलग्न माता भनिने उमा ठकुरीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।
अदालतको बिहीबारको आदेश अनुसार ठकुरीलाई पुर्पक्षका लागि कारागार विभाग जगन्नाथ देवल पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनाली जानकारी दिए । ४८ वर्षीया ठकुरी काठमाडौंको नागार्जुन नगरपालिका-१ रानीवनस्थित पानीट्याङ्की नजिक भाडाको घरमा झारफुक गर्दै आइरहेकि थिइन्।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-२ कि १४ वर्षीया बालिका उनको घरमा २४ पुसमा बेहोस अवस्थामा फेला परेकी थिइन्। बेहोस अवस्थामा बालिकालाई उद्दार गरी उपचारका लागि मनमोहन मेमोरियल अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
महानगरीय प्रहरी वृत्त स्वयम्भूले झारफुक गर्ने ठकुरी र उनकी सहयोगी नाबालिका “स्वयम्भु ३३” लाई पक्राउ गरी ‘कर्तव्य ज्यान’ सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको थियो । सरकारी वकिल कार्यालयले उनीहरुविरुद्ध कर्तव्य ज्यान कसूरमा जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो ।अदालतले बालिकाको हत्या आरोपमा पक्राउ परेकी अर्की एक नाबालिकालाई भक्तपुरको थिमीस्थित बाल सुधारगृह पठाउने आदेश दिएको छ ।

