निर्वाचनका लागि मतपत्र डिजाइन तथा रङ तय गर्ने अधिकार आयोगलाई छ : निर्वाचन आयोग
काठमान्डौ – निर्वाचन आयोगले मतगणना गर्न सजिलो होस् भनेर मात्रै स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्र र चुनाव चिन्हको रङ परिवर्तन गर्दै हरियो बनाउन लागेको बताएको छ। बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले मतगणनामा सजिलो होस् भनेर चुनाव चिह्न र स्वस्तिक छापको रङ फरक पार्न खोजिएको बताएका हुन् ।
नेपालमा निर्वाचनमा चुनाव चिह्नमा संकेत गर्न प्रयोग गरिने स्वस्तिक छाप नीलो रङको रहेको छ । आयोगले ०७४ सालमा भएको स्थानीय चुनावमा मतपत्र र चुनाव चिन्ह तथा मतदानको संकेत गर्ने स्वस्तिक छापको रङ एकै रङ (निलो) प्रयोग गरेको थियो। मतपत्र, चुनाव चिन्ह र स्वस्तिक छापको रङ समान हुँदा मतगणनामा अप्ठ्यारो आइपरेकोले ३० बैशाखको चुनावमा चुनाव चिह्नको रङ र स्वस्तिक छापको रङमा फरक ल्याउन खोजेको निर्व्वाचन आयोगले जनाएको हो।
यस्तै आयोगका सूचना अधिकारी तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले निर्वाचनका लागि मतपत्र डिजाइन तथा रङ तय गर्ने अधिकार आयोगमा रहेको बताए। निर्वाचन आयोगले चुनाव चिह्नको रङ हरियो बनाउने निर्णय गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमा त्यसको आलोचना गर्दै आफूहरुले नमान्ने बताएका थिए। उनले आँखा नदेख्नेले मान्छेले पनि रुखमा भोट हालोस भनेर आयोगले मतपत्र र चुनाव चिन्हको रङ परिवर्तन गरेको भन्दै आयोगको आलोचना समेत गरेका थिए।

