अमेरिकी उपमन्त्रीले नेपाल भ्रमणको क्रममा तिब्बती शरणार्थीलाई भेटेर उक्साउने काम भयो : ओली
काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी उपमन्त्रीले नेपाल भ्रमणको क्रममा तिब्बती शरणार्थीलाई भेटेर उक्साउने काम गरेको आराेप लगाएका छन्।
आज बुधवार पार्टीकाे संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले उपमन्त्री (अमेरिकी विदेश मन्त्रालयको नागरिक सुरक्षा, प्रजातन्त्र तथा मानवअधिकार सम्बन्धी)ले त्यस्ताे गर्नु बेठिक भएकाे बताए । उपमन्त्रीको भ्रमणका क्रममा नेपालको परराष्ट्र नीतिको स्थापित मूल्यहरूलाई खण्डित गर्ने व्यवहार भएको उनको भनाई छ।
अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै प्रमुख सचेतक विशाल भट्टराईले भने अमेरिकी उपमन्त्रीको नेपाल भ्रमणमा हाम्रा परराष्ट्र नीतिका स्थापित मूल्यहरूलाई खण्डित गर्ने प्रकारका व्यवहार भयो ।
नेपाल असंलग्न परराष्ट्र नीतिमा कटिबद्ध छ । हामी जहिले पनि राष्ट्रिय हितलाई प्राथमिकता दिन्छौँ । उपमन्त्री तिब्बती शरणार्थीहरूको क्याम्पमा पुगेर त्यहाँ उक्साउने काम गरियो र नेपाली भूमिलाई प्रयोग गर्ने काम गरियो ।
त्यो वास्तवमा बेठिक थियो भन्ने कुरा पनि अध्यक्ष ओलीले भने ।ओलीले सरकारको नीति तथा कार्यक्रममाथि व्यवस्थित, तर्कयुक्त र वस्तुसम्मत तरिकाले चिरफार गर्दै संसदमा प्रस्तुत हुन सांसदहरूलाई निर्देशनसमेत दिएको प्रमुख सचेतक भट्टराईले जानकारी दिनुभयो दिए।

