सुन प्रकरणका दोषी सिआईबीले नै छिटै पत्ता लगाउछ : गृहमन्त्री श्रेष्ठ
काठमान्डौ – गृहमन्त्री नारायणकाजी श्रेष्ठले सीआईबीले नै सुन काण्डका दोषी पत्ता लाग्ने दाबी गरेका छन् ।
प्रेस सेन्टर नेपाल कास्कीले शनिबार पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले एमालेले छानबिन समितिको माग राख्दै संसद अवरुद्ध गर्नु दुखद् रहेको बताए ।
यसअघि पनि विभिन्न काण्डमा छानबिन समितिको प्रतिवेदन कार्यान्वयन नभएको बताउँदै उनले राज्यको संस्थागत रुपले दक्ष, जिम्मेवार र अनुसन्धानकै लागि भनेर निर्माण गरिएका संरचना, संयन्त्रहरुलाई काम गर्न दिनु पर्ने बताए ।
गृहमन्त्रीले भने हाम्रो अनुभव पनि छ । एकचोटी यस्तै काण्डमा चाहिँ संसदबाट समिति बनाइयो । त्यसको रिपोर्ट आयो सिद्धियो ।
अर्को एक पटक कमरेड केपी ओली नै प्रधानमन्त्री हुनुभएको बेलामा २२ किलो सुन काण्डका सन्दर्भमा एउटा छानबिन समिति बनाउनुभयो उहाँहरुले ।
त्यो छानबिन समितिको रिपोर्ट त आयो तर केही पनि आएन श्रेष्ठले भने, ‘न सुन आयो, न त्यसको सिफारिस कार्यान्वयनमा आयो ।
छानबिन समितितिर जानुभन्दा पेसागत रुपमा यसकै लागि विकासित गरिएका जसले अनुसन्धान र अभियोजन दुई वटै अगाडि बढाउन सक्छ, त्यहीँबाट दोषी पत्ता लगाउने श्रेष्ठले बताए ।
सीआईबीले यो अनुसन्धान अगाडि बढाउँदा नै दोषीहरु पत्ता लाग्ने र तिनिहरुलाई कानुनको दायरमा पनि ल्याउन सक्ने दाबी श्रेष्ठको छ । समिती बनायर कसले लागू गर्ने त्यसले अनुसंधान गर्दैन उनले भने ।
यस्तै त्रिभुवनविमानस्थलबाट क्विन्टलका क्विन्टल सुन भित्रिनु भनेको राज्यलाई नै लजास्पद भएको गृहमन्त्रीले बताए ।
जुन प्रकारको सुन तस्करी भयो, त्यसले देशको छविलाई नै आघात पुर्याएको, राजश्व र अर्थतन्त्रमै असर परेको श्रेष्ठले बताए ।
सुन काण्डलाई अन्तिम निष्कर्षमा पुर्याएर तत्काल त्यसको नेकवर्क पहिचान गरेर दोषीमाथि कारबाही गर्ने र दोस्रो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण सुरक्षा र व्यवस्थापनलाई समीक्षा गरेर नयाँ नीति र योजनाका साथ अगाडि बढ्ने दाबी गृहमन्त्री श्रेष्ठको छ ।
सुन प्रकरणमा माओवादी नेता कृष्णबहादुर महराको बाबू छोराको नाम आएको भन्ने जवाफमा गृहमन्त्री श्रेष्ठले कोहि माओवादी , काङ्ग्रेस , एमाले जुनसुकै पार्टी भएपनि नछोडिने उनले बताए । भदौ २

