वामदेव गौतमले प्रधानमन्त्री बालेन्द्र शाहलाई भने केपी ओलीलाई तत्काल रिहाई गर्नुस
काठमान्डौ – पूर्वउपप्रधानमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य वामदेव गौतमले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र बालेन शाहलाई खुल्ला पत्र लेख्दै
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हिरासतमा राखिएको विषयमा गम्भीर ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई देशको ४३ औँ प्रधानमन्त्री बनेकोमा बधाई दिँदै गौतमले ओलीमाथि गरिएको व्यवहार राजनीतिक र मानवीय दृष्टिकोणले गलत भएको टिप्पणी गरेका हुन्।
उनले ७४ वर्षका वृद्ध र शारीरिक रूपमा अस्वस्थ नेतालाई अपमानित हुने गरी थुनामा राख्नु उचित नभएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।गौतमले आफ्नो पत्रमा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र त्यसपछि विकसित राजनीतिक घटनाक्रमको स्मरण गराएका छन्।
तत्कालीन समयमा नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार रहेको र १९ जनाको मृत्यु भएपछि आफूले नै तत्कालीन प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाव दिएको उनले उल्लेख गरे।
ओलीको राजीनामा, प्रतिनिधिसभाको विघटन, सुशीला कार्कीको मनोनयन र फागुन २१ को निर्वाचनसम्मका प्रक्रियामा ओलीको पनि सकारात्मक योगदान रहेको गौतमको भनाई छ।
तर, अहिले उनै नेतालाई कुनै ठोस कानुनी परीक्षण र प्रमाण बिना एकाबिहानै घर घेराउ गरी पक्राउ गरिनु लोकतान्त्रिक अभ्यास विपरित भएको उनले बताएका छन्। पूर्वगृहमन्त्री समेत रहेका गौतमले कानुनी राज्यमा कुनै पनि व्यक्तिमाथि लागेको आरोप पहिला अदालतबाट प्रमाणित हुनुपर्ने र छानबिन प्रतिवेदनको निष्कर्षका आधारमा मात्र कारबाही हुनुपर्ने जिकिर गरेका छन्।
मृत्युदण्ड दिइने देशहरूमा समेत दोषीलाई अन्तिम इच्छा सोधिन्छ, तर यहाँ त परीक्षण नै नगरी राता रात घर घेरेर समात्ने शैली अपनाइयो गौतमले पत्रमा लेखेका छन्।
उनले वर्तमान सरकारलाई यो गल्ती सच्याउन र वृद्ध एवं अस्वस्थ राजनीतिक व्यक्तित्वलाई यस्तो सकस नदिन विशेष अनुरोध गरेका छन्। प्रधानमन्त्री बालेन शाहको कार्यकालको सफलताको कामना गर्दै गौतमले न्यायपूर्ण र कानुनी प्रक्रियासम्मत ढङ्गले अगाडि बढ्न सुझाव दिएका हुन्।

