भारतमा फैलिएको कोरोनाको आँधीबेहरी तथा नेपालमा यसको प्रभाव ,
डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
साउन १० ,काठमान्डौ – भारतमा कोरोना संक्रमण प्रतिदिन ५० हजारको आसपासमा बढिरहेको छ।
अहिलेसम्म परीक्षण भएका संक्रमित १३ लाख ३६ हजारभन्दा धेरै छन् भने यसको धेरै गुणाको परीक्षण नभएका संक्रमित भएको विश्वास गरिएको छ।
तेस्तै भारतमा आजसाम्म ३१ हजार ३ सय ५८ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ।
हिंजो भारतमा ४ लाख २० हजार व्यक्तिको कोरोना परीक्षण गरिएको छ भने आगामी दिनमा परीक्षणको दायरा बढाउनको लागि ठूला ठूला ल्याब बिभिन्न राज्यमा स्थापना गरिएको छ।
सम्पूर्ण नीजी ल्याबलाई ३ हजारमा कोरोना परीक्षण गर्न अनुमति दिइएको छ। हिंजो भारतमा ११ सय भन्दा धेरैको मृत्यु भएको थियो भने आज ७५० जना संक्रमितको मृत्यु भएको छ।
नेपालसंग सिमाना जोडिएका ४ राज्यमध्ये पश्चिम बङ्गालमा हप्तामा २ दिन लकडाउन गरिएको छ। यातायात तथा हवाइजहाज फेरी बन्द गरिएको छ।
संक्रमितको संख्या ५३ हजारभन्दा धेरै छन् भने आजमात्र २२ सय १६ जनालाई संक्रमण पुष्टि भएको छ।
बिहारको अवस्था अत्यन्तै नाजुक भइरहेको छ। त्यहाँको परीक्षण प्रति १० लाखमा ३४०० जनामा मात्र भएको छ। ठूलो जनसंख्या परीक्षणको दायरा बाहिर छ।
आजको मितिसम्म प्रमाणित संक्रमित ३३ हजार ९ सय २६ छन् भने २२० जनाको मृत्यु भएको छ।
आज मात्र बिहारमा २८ सय संक्रमित थपिएका छन्। अस्पतालमा खाली बेड छैनन्। आइसीयु, भेन्टिलेटर तथा अक्सिजनको अभाव छ। बिरामीहरु निरुपाय बनेका छन्। स्वास्थ्यकर्मीलाई PPE को अभाव छ।
उत्तर प्रदेशमा पनि संक्रमण बढिरहेको छ। संक्रमितको संख्या ५८ हजारमाथि छ। आज मात्र २८ सय भन्दा धेरै संक्रमित भएका छन् ।
नेपालको भारतसंग १८०० किलोमिटरभन्दा लामो खुला सिमाना भएकोले हामीले त्यहाँको अवस्था बुझेर तदनुसार रणनीति बनाउनु जरुरी छ।
अहिलेपनि खुला सिमानाको फाइदा उठाउँदै धेरै भारतीय नेपाल प्रवेश गरिरहेको सुन्नमा आएको छ। हामीले पुरै सिमाना शिल गर्ने, २४ सै घण्टा गस्ती गर्ने तथा सिमाबासीलाई प्रशिक्षित गर्नु अत्यावश्यक छ।
भारतको बिहारमा कोरोना संक्रमितमा बिभिन्न लक्षण देखिएका छन्। सास फेर्न गाह्रो हुने, जाडो हुने, पखाला लाग्ने, एकदम कमजोरी महशुष गर्नु लगायतका लक्षण देखिएका छन्।
नेपालको सप्तरी, इनरुवा, बिरगंज लगायतका ठाउँमा पनि कोरोना संक्रमितमा त्यस्तै लक्षण देखिएका छन्। यसबाट थाहा हुन्छ कि भारतका सिमाबर्ती क्षेत्रबाट नेपाल प्रवेश गरेका व्यक्ति वा वारपार ब्यापार गर्ने व्यक्तिबाट नेपालमा कोरोना संक्रमण बढेको छ।
हाम्रो स्वास्थ्य मन्त्रालयले दिनमा ३-४ हजारको परीक्षण गरेर संक्रमित घटेको प्रचार गरिरहेको छ। जोखिम समुदायमा परीक्षण नगण्य रुपमा भएको छ।
हामीले भारतको नियति नभोग्ने हो भने घटीमा पनि दिनको ३० हजार पिसिआर टेस्ट गर्नु जरुरी छ। Pooling मेथोड़बाट https://www.youtube.com/watch?v=-B6L9SfbMiY&t=368s पिसिआर टेस्ट गर्ने हो भने दिनमा ४-५ हजार पिसिआर परीक्षण गर्ने साधनस्रोत र जनशक्तिले दिनमा ३०-४० हजारको परीक्षण गर्न सक्छन।
यसको लागि सरकार इमान्दार र जनताप्रति बफादार भएर लाग्नुपर्यो। स्वतन्त्र विज्ञको आवाज सुन्नुपर्यो। गणेश प्रवृतिको कारण कुमारहरू निरुत्साहित हुनु दुर्भाग्य हो।
सरकारले जनस्वास्थ्यका मापदण्डलाई अनिबार्य ब्यबस्था गर्नुपर्छ। भारतमा मास्क नलगाउनेलाई ५०- १ लाख जरिवाना गर्दैछ।
बेलायतले मास्क नलगाउनेलाई १०० युरो जरिवाना तोकेको छ। संसारका अधिकांश देशमा मास्क नलगाउने तथा व्यक्तिगत दुरी कायम नगर्ने व्यक्तिलाई निगरानी र जरिवानाको ब्यबस्था गरिएको छ।
हाम्रो देशमा कोरोना संक्रमण नियन्त्रणलाई गम्भीरतापूर्वक कदम चालिएको छैन, प्राथमिकतामा राखिएको छैन।
राइट म्यान, राइट प्लेस नहुनु नै हाम्रो दुर्भाग्य हो।
सरकारले नेपालीबाहेक अन्यको लागि सिमा तथा हवाइ उडान खोल्नु हुँदैन।
बिदेशमा रहेका नेपालीलाई निशुल्क वा न्युनतम शुल्कमा स्वदेश आउने वातावरण सरकारले तयार गर्नुपर्छ।
तर १ अरब ३० करोड जनसंख्या भएको भारत तथा कोरोना संक्रमण निकै बढिरहेको बंगलादेश ( २ लाख २० हजारभन्दा धेरै संक्रमित भएको ) बाट नेपालमा कोभिडको उपचार गर्न, बच्नको लागि वा अन्य उद्देश्यले स्थल तथा हवाइमार्गबाट आए भने हाम्रो देशले धान्न सक्दैन।
कोरोना संक्रमणको आँधीबेहरी रोक्नको लागि हामी सबैको इमान्दार तथा अनुशाशित प्रतिबद्धता आवश्यक छ।