Gold
Bangad salyan

राष्ट्रपति भण्डारीको बङ्गलादेश भ्रमणको तयारी पुरा यसरि भयो ,

चैत ८ ,काठमान्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीको बङ्गलादेशको दुई दिने राजकीय भ्रमणको तयारी पूरा भएको छ । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान त्यसतर्फ जान लागेकी हुन् ।

राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार बिहान ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए ३२० जहाजमार्फत ढाका प्रस्थान गर्नेछिन् ।

रास्ट्रपति भण्डारीलाई बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद र बङ्गलादेशका लागि नेपाली राजदूत डा.वंशीधर मिश्रले स्वागत गर्नेछन् । तेस्तै भण्डारीलाई त्यहाँ २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ सम्मान गरिनेछ ।

तेस्पछि भण्डारी त्यहाँको राष्ट्रिय शहीद स्मृति, सभारमा शहीदप्रति श्रद्धाञ्जलीका लागि पुग्नेछिन् ।भण्डारीको सोमबार नै बङ्गलादेशका राष्ट्रपति हमिदसँग दुईपक्षीय भेटवार्ता हुनेछ भने प्रधानमन्त्री शेख हसिना लगायतले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चैत ९ र १० गते हुन लागेको राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा दुई देशबीच पर्यटन प्रवद्र्धन, सांस्कृतिक सहयोग आदानप्रदान, रोहनपुर–सिंहबाद ‘रेल रुट’ सञ्चालन, पशुपक्षीसँग सम्बन्धित ‘स्यानिटरी’ र वनस्पति जगतमा रोगब्याधी फैलिन नदिने प्रावधान ‘फाइटो स्यानिटरी’ अर्थात् स्यानिटरी एन्ड फाइटो स्यानिटरी मेजर्ससहित तीनवटा बेग्लाबेग्लै समझदारीपत्रमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालय स्रोतले बताएको ।

राष्ट्रपतिको भ्रमण दलमा राष्ट्रपतिका छोरी उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपतिका सञ्चार विज्ञ टीकाप्रसाद ढकाल, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, राष्ट्रपतिको कार्यालयका सचिव डा.हरि पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई र राष्ट्रपतिका स्वकीय सचिवालयका प्रमुख डा.भेषराज अधिकारी रहनेछन् ।

यस्तै परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल, मन्त्रालयका शिष्टाचार महापाल डा. दुर्गाबहादुर सुवेदी, राष्ट्रपतिका निजी चिकित्सक डा. कैलाश भण्डारीलगायत ढाकास्थित नेपाली दूतावासका समेत गरी ५४ जना भ्रमण दलमा रहेका छन् । भ्रमण दलमा कलाकार अशोकुमार राईको नेतृत्वमा सांस्कृतिक कलाकर्मीको १९ सदस्यीय टोली तथा तीन सञ्चारकर्मी रहने छन् ।