मेयरलाई मुक्का प्रहार गर्ने युवक पक्राउ
असोज ४ वुटवल – बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । मेयरलाई मुक्का हान्ने गणेश पंगेनीलाई सोमबार साँझ प्रहरीले बुटवलबाट पक्राउ गरेको हो । उनलाई अहिले प्रहरी कार्यालय बुटवलमा राखिएको डीएसपी मदन कुँवरले जानकारी दिए ।
पंगेनीले सोमबार बिहान बुटवल उपमहानगरपालिका,३ ज्योतिनगरमा पहिरो निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि मुक्का प्रहार गरेका थिए ।
पंगेनी पहिरो प्रभावित ज्योतिनगरकै बासिन्दा हुन् । लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी उनी अनेरास्ववियू रुपन्देही जिल्ला कमिटी सदस्य समेत रहेको छन्।
मेयरमाथि मुक्का प्रहार भएपछि बुटवल उपमहानगरपालिका र एमाले बुटवल उपमहानगर कमिटीले पक्राउ गरी कारबाही गर्न माग गरेका थिए । पंगेनीमाथि अनुसन्धान गरेर दुर्व्यवहार वा शान्ति सुरक्षासम्बन्धी मुद्दामा कारकाही हुने डीएसपी कुँवरले बताए।
गत भदौ १३ गते बिहान सो स्थानमा पहिरो जाँदा झण्डै एक दर्जन घर पुरिएका थिए भने २५ भन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।
एक महिनासम्म पनि स्थानीय सरकारले नहेरेको भन्दै आक्रोश पोखेपछि मेयर सुवेदी पहिरो गएको स्थानमा अवलोकन गर्न पुगेकै बेला स्थानीयले नाराबाजी गरेका थिए ।