देउवा प्रधानमन्त्री बनेको आज ७३ दिन पुग्यो अझै मन्त्रिपरिषदले पूर्णता पाउन सकेन
आसोज ७ ,काठमाडौं- सत्तारूढ गठबन्धनको सरकारले अझै मन्त्रिपरिषदलाई पूर्णता दिन सकेको छैन। बारम्बार छलफल गरे पनि मन्त्रिपरिषदले पूर्णता पाउन अझै केही दिन समय लाग्ने शिर्ष नेताहरुले बताउने गरेका छन्।
हिजो बसेको पार्टी स्थायी समिति बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीवारसम्म मन्त्रिपरिषद्ले पूर्णतापाउने बताएपनि अझै अलमलनै छ। प्रधानमन्त्री शेरबहादुर देउवाले हिजोको छलफलमा अब मन्त्रिमन्डल विस्तारमा ढिला नगरी तत्कालै मन्त्रीहरूको नाम दिन भनेका थिए।
जसपाका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेशलाई पहिले निस्कृय बनाउनुपर्ने अडान दोहोर्याएका छ। यस्तै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरूविरूद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतमा मुद्दा दिएकोले त्यो किनारा लागेपछि मन्त्रिमन्डललाई पूर्णता दिन बताउने गरेका छन्।
बैठकमा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपाल, कांग्रेस महामन्त्री खड्का, माओवादीका नेता नारायणकाजी श्रेष्ठ, कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत थिए।
यस्तै मन्त्रिमन्डल विस्तार गर्दा कांग्रेसले ७ माओवादीले ६ जसपाले ४ र नेकपा (एकीकृत समाजवादी) ले ५ मन्त्रालय पाउने गरी छलफल भइरहे पनि निर्णय भईसकेको छैन।यस्तै तीन राज्यमन्त्री बनाउने पनि तयारी रहेको श्रोतले जनाएको छ। सत्तारूढ गठबन्धनको बैठक आज अपरान्ह फेरि बस्ने तयारी छ।
देउवा प्रधानमन्त्री बनेको आज ७३ दिन पुगीको छ। देउवाले बुधबार परराष्ट्र मन्त्री नारायण खड्कालाई बनाएका थिए। कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्री तथा माओवादीबाट दुई जना मन्त्री सरकारमा छन्।

