काङ्ग्रेसको मतगणना स्थलमा गोली चल्यो ७ घाइते
काठमान्डौ – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्युठान जिल्ला अधिवेशनको मतगणना स्थलमा गोली चलेको छ ।
मतगणनाको क्रममा पौडेल-सिटौला पक्षका विष्णुकुमार गिरीले अग्रता लिएपछि युवाहरुको समूहले मतगणनास्थल स्वर्गद्वारी क्याम्पसमा ढुंगा प्रहार गरेका थिए ।
मतपरिणममा असन्तुष्टि जनाउँदै युवाहरुले मतगणनास्थलमा आक्रमण गर्न थालेपछि प्रहरीले गोली चलाएको छ ।
मंगलबार राति मतगणना भइरहँदा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको थियो । प्रदर्शनले उग्र रुप लि लिएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ७ सेल अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी देविप्रसाद गैरेले जानकारी दिए ।
झडपका क्रममा प्रहरीसहित ७ जना घाइते भएका छन । घाईतेहरुलाई उपचारका लागि प्युठान जिल्ला अस्पताल बिजुवार ल्याइएको छ ।
आक्रमणपछि अहिले मतगणना कार्य स्थगित भएको छ । स्थिती समान्य रहेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।
६५ मत गणना गर्न बाँकी हुँदा उक्त घटना भएको उनले भुसालले बताए ।निर्वांचनमा देउवा पक्षबाट शिव रिजाल सभापतिका उम्मेद्वार रहेका छन् भने पौडेल-सिटौला पक्षबाट विष्णुकुमार गिरी मैदानमा छन् ।
जिल्ला सभापति पदका लागि खसेको कूल १०६५ मतमध्ये एक हजार मत गणना हुँदा गिरी ६६ मतले अघि रहेको श्रोतले जनाएको छ ।
गिरी पक्षका विजयी घोषणा गरी खुशी मनाइरहेका छन् भने रिजाल पक्षले असन्तुष्टि जनाउँदै नाराबाजी गरिरहेका छन् ।