रामचन्द्र पौडेलले मतदान नगर्ने
मंसिर २७,काठमाण्डाै – नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि हुने चुनावमा वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान नगर्ने भएका छन।
नेतृत्व चयनका लागि हुने मतदानमा पौडेल सहभागी नहुने उहाँको सचिवालयले जनाएको छ । यसअघि सभापति पदका आकाङ्क्षी रहेका पौडेलले आफ्नै समूहमा सहमति नजुटेपछि प्रतिस्पर्धाबाट अलग भएका थिए ।
सभापतिमा शेखर कोइराला र प्रकाशमान सिंहले दाबी नछाडेपछि पौडेल बाहिरीएका थिए । आज कांग्रेसको नयाँ नेतृत्व चयनका लागि ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिले मतदान गर्दै छन् ।
सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्यको लागि मतदान हुँदैछ ।
सभापतिमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । प्रकाशमान सिंह र विमलेन्द्र निधिको उम्मेदवारीले प्रतिस्पर्धालाई पेचिलो बनाएको छ ।
सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच फेरि प्रतिस्पर्धा हुनेछ । आज बिहान १२ बजे देखि भृकुटीमण्डपमा मतदान भैइरहेको छ।

